बैंकिङ क्षेत्रकाे तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले जारी गर्याे रु. ३० अर्बको रिपो


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य तरलताको अभाव बढ्दै गएपछि आज नेपाल राष्ट्र बैंकले सात दिने रिपो जारी गरेको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि आज नेपाल राष्ट्र बैंकले सात दिन अवधिको लागि रु.३० अर्ब बराबरको रिपो जारी गरेको छ ।

रिपो तथा रिभर्स रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् । यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ ।

सोही व्यवस्थालाई लागू गर्न तरलताको अवस्था हेरेर केन्द्रीय बैंकले सातदिने निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने भएको हो। यो क्रममा तरलता न्यून हुँदा रिपो जारी गरिन्छ भने अधिक हुँदा रिभर्स रिपो जारी गरिन्छ।

हाल प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधानका लागि रिपो उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागिएको हो। यो उपकरणमार्फत बजारमा पठाइने पैसा बैंकहरुले पाउने र यसले तरलता व्यवस्थापन हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट बैंकले आज देखि जारी गरेको उक्त रिपो बोलकबोलमार्फत विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले असोज १४ गते दिउँसो ३ बजेसम्म खरिद गर्न सक्नेछन् ।

यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो ।