देश विकासका लागि सरकार र नीजि क्षेत्र सँगै अगाडि बढ्नु पर्छ: अर्थमन्त्री शर्मा


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्रोत परिचालनमा सरकार र निजी क्षेत्र सँगै अगाडि बढेमा विकास सम्भव रहेको बताएका छन् ।

बुधबार आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको जर्नल विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले राष्ट्र निर्माणमा निजी क्षेत्रले खेलेकाे भूमिकाको प्रशंसा गरे ।

उनले निजी क्षेत्रलाई पूर्वाधारमा पनि लगानी गर्न ध्यानाकर्षण गराए । “निजी क्षेत्रकाे भने अनुसार नभएको भन्ने गुनासो छ, यस विषयमा निजी क्षेत्रसँग छलफल भइराखेको छ,” उनले भने ।

मन्त्री शर्माले व्यवस्थापनको क्षमतामा समस्या भएका कारण देश विकास हुन नसकेको बताएका छन् । ”हामीसँग साधनस्रोत, पूँजी, श्रम, मार्केटिङको समस्या होइन, समस्या के हो भने व्यवस्थापनको क्षमतामा समस्या पएको छु,” उनले भने ।

सार्वजनिक संस्थापनमा पनि दिलचस्पी नदिएर र व्यवस्थापन गतिलो नभएका कारण बन्द हुने अवस्थामा पुगेको मन्त्री शर्माले बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डा. शिवराज अधिकारीले निजी क्षेत्र र सरकारलाई साझेदारी गर्न र सम्बन्ध लामो समय टिकाउन सहयोग गर्ने बताए ।

देशको आर्थिक विकास गर्न निजी क्षेत्रलाई सरकारले सहयोग गर्नु पर्ने अधिकारीले बताए । अधिकारीले सरकार र निजी क्षेत्रको समन्वयमा समस्या देखिएको बताए।

कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कोभिडले खस्किएको अर्थतन्त्र चलायमान बनाउन सरकारले सहयोग गर्नुपर्ने बताए । सिसिडी रेसियो भएको बेला बैंक ब्याज कति थियो र सिसिडी रेसियो हटेर सिडी रेसियो लागू भएपछि बैंक ब्याज धेरै भएको हेर्नु पर्ने बताए ।

उद्योगी व्यवसायी २-३ प्रतिशत बढी ब्याज तिर्न बाध्य भइराखेको मल्लले बताए । उनले भने, “स्रोतलाई प्रशोधन गरेर र उत्पादन बढाएर निर्यात कसरी गर्न सकिन्छ, निजी र सरकारी क्षेत्र मिलेर अघि बढ्नु पर्छ ।” उनले नीजि क्षेत्र र सरकार एउटा रथको दुई पाङ्ग्रा हुन तयार रहेको बताए।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले अर्थतन्त्रको विषयलाई गम्भीर रुपमा नलिए त्यसले मानवीय संकट ल्याउने बताए । उनले निजी क्षेत्रले पूर्वाधार क्षेत्रलाई सबल र सफल बनाएर अगाडी बढाउन सक्ने बताए ।