विदेशी मुद्राको भण्डार रित्तिँदै


काठमाडौं । देशको आयात व्यापारको अनुपात बढेसँगै त्यसको भुक्तानीका लागि मुख्य स्रोतहरू रेमिट्यान्स र पर्यटनको आय खुम्चेपछि विदेशी मुद्राको भण्डार रित्तिँदै गएको छ ।

गत असार मसान्तमा देशमा रु.१३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा मंसिर मसान्तमा रु.१२ खर्ब १४ अर्ब ३ करोडमा झरेको छ । यो १३.२ प्रतिशतको कमी हो ।

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्नमात्र पुग्छ ।

पछिल्लो ५ महिनाको तथ्यांक अनुसार यस अवधिमा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको छ । पाँच महिनामा कुल ३ खर्ब ८ अर्ब ५ करोड रुपैयाँमात्र भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।