एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना


काठमाडौं । एनसेलका ग्राहकले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा योजना ल्याएको जनाएको छ ।

मंगलबारबाट संचालनमा आएको यो योजना १० दिन सम्म संचालनमा रहने एनसेलले जनाएको छ । यस अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्नुहुने तीन जना ग्राहकले १÷१ वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याव टेनएस पाउने छन् ।

ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याव जित्ने मौका पाउनेछन् ।

मलेसियाबाट आउने आगमन कलमा कम्तिमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुने जनाएको छ । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहक लगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले यो सेवा १७१२६ डायल गरेर निःशुल्क सुचारु गर्न सक्नेछन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्ने जनाइएको छ ।