गतवर्षको तुलनामा प्रणय दिवसमा गुलाबको खपत बढ्यो, दुई करोडको कारोबार


काठमाडौं । गत वर्षको तुलनामा यस वर्षको प्रणय दिवसमा गुलाब फूलको खपत २७ हजार स्टिमले बढेको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यस वर्षको प्रणय दिवसमा दुई लाख ३० हजार स्टिम गुलाब फूलको माग हुने अनुमान गरिएपनि करिब २ लाख ७ हजार स्टिम मात्र खपत भएको हो ।

गुलाबको फूल बजार मागको ६० प्रतिशत काठमाडौं उपत्यका भित्र र बाँकी  ४० प्रतिशत बाहिरी मूख्य शहरहरुमा खपत भएको एशोसिएसनले जनाएको छ ।

“नेपालमा यसवर्षको प्रणय दिवसमा खपत भएको फूलमध्ये ९० प्रतिशत भारतका विभिन्न सहरबाट नेपाल भित्रिएका हुन्,” फ्लोरिकल्चर एशोसिएसनका महासचिव विश्वमणी पोख्रेलले भने, “नेपालमा गुलाब उत्पादनको सिजन नभएका कारण भारतबाट ल्याउनुपरेको हो, अहिले नेपालमा फूलको माग बढी र उत्पादन अति न्युन हुन्छ ।”

अहिले नेपालमा गुलाबको गुणस्तर अनुसार प्रति स्टिम रु ८० देखि १०० को हारहारीमा बिक्री हुने गरेको पोख्रेलले बताए ।