जीटुजी बाट रासायनिक मल आयात गर्ने सरकारकाे तयारी


काठमाडौं । भारत सरकारसँग जीटूजी विधिमार्फत ५ वर्षका लागि रसायनिक मल आपूर्ति गर्ने प्रकृया अगाडि बढेकाे कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बताएका छन्।

सोमबार मन्त्री यादवले पद सम्हालेको सय दिनकाे कार्यसम्पादन बारे जानकारी दिँदै मन्त्री यादवले भारत सरकारसँग वार्षिक १ लाख ५० हजार मेट्रिक टनको दरले मल आपूर्तिको लागि  सम्झौता(एमओयु) को क्रममा रहेको जानकारी दिएका हुन्।

मन्त्री यादवले रासायनिक मल समस्याको दीगो समाधानका लागि नेपालमा नै रासायनिक मल उत्पादन कारखाना स्थापनाका विकल्पहरुवारे उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सरोकारवालाहरुसँग छलफल गरी लगानी बोर्डसँग समन्वय गरिएको बताएका।

यस अवधिमा कृषि मन्त्रालयले गत वर्षको मौज्दात समेत गरी २ लाख ४ हजार मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ । भारतसँग २ लाख ६४ हजार मेट्रिक टन मल आयात गर्ने सम्झौता भएको थियो। जस अनुसार यस अवधिमा १ लाख ६ हजार मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको छ।

बर्ड प्लु नियन्त्रण नियमावली कार्यान्वयनमा ल्याएको र स्वदेशी कच्चा पदार्थममा आधारित कृषिजन्य उद्योगहरुलाई सहुलियत पूर्ण कर्जा प्रवाह सम्बन्धि कार्यविधि मस्यौदा गरी सहमतिका लागि अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको मन्त्री यादवले बताएका छन्।

राष्ट्रिय पशु स्वास्थ्य र राष्ट्रिय पशु प्रजनन नीति २०७८ स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको मन्त्री बताए । मन्त्री यादवले आफ्नाे सय दिनमा धान, उखु, कफि र कच्चा दुधको मूल्य निर्धारण गरेको पनि बताएका छन्।

चालू आर्थिक वर्ष ०७८/७९ मा सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २ हजार ७ सय ५२ र मध्यमको धानको मूल्य २ हजार ९ सय २ निर्धारण गरेको थियो भने उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ५९० निर्धारण गरेको थियो।

दूधबाट उत्पादित १ अर्ब २० करोड रुपैयाँ बराबरको छुर्पी जापान, अमेरिका र युरोपियन मुलुकहरुमा निर्यात भएको मन्त्रालयले जनाएकाे छ।