भारतीय सेयरबजार : एलआईसीले हालसम्मकै ठुलो आइपीओ निष्कासन गर्दै


काठमाडौं । भारतको सबैभन्दा ठुलो सरकारी बिमा कम्पनी भारतीय जीवन बिमा निगम (LIC) लाई नियामक निकाय सेबीले आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरेकोे छ । बजार नियामकमा दर्ता रेड हेरिंग प्रोस्पेक्टस (डीआरएसपी)को मस्यौदा अनुसार सरकारले एलआईसीको आइपीओ अन्तर्गत ३१ करोड भन्दा बढी कित्ता सेयर बेच्ने छ ।

अहिलेसम्मकै ठुलो आइपीओ
भारतीय अनलाइन पत्रिका दैनिक भाष्करका अनुसार एलआईसीको आइपीओ भारतीय सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ हुनेछ । सूचीकरण पछि एलआईसीको बजार मूल्याङ्कन आरएलआई र टीसीएस जस्ता शीर्ष कम्पनीहरूसँग बराबर हुनेछ । यसअघि पेटीएमको आइपीओ सबैभन्दा ठूलो थियो र कम्पनीले गत वर्ष आईपीओबाट १८ हजार ३ सय करोड रुपैयाँ उठाएको थियो।

एलआइसीको चुक्ता पुँजी ४४ लाख करोड रुपैयाँ भन्दा माथि रहेको छ भने कम्पनीको २९ करोड पोलिसी रहेको बताइएको छ ।

त्यस्तै कम्पनीले हालसम्म २ हजार ४८ शाखा खोलेको छ भने ८ वटा सामान्य कार्यालय रहेको छ । कम्पनीमा ११.४८ लाख एजेन्ट १.२५ लाख कर्मचारी रहेको दैनिक भाष्करले उल्लेख गरेको छ ।

हालै केन्द्रीय मन्त्रिपरिषद्ले यस आईपीओमा विदेशी लगानीकर्तालाई समावेश गर्न एफडीआई नीति परिवर्तन गरेको छ । यो परिवर्तन अन्तर्गत एलआईसीको आईपीओमा स्वचालित रुट अन्तर्गत २०% सम्म विदेशी लगानीलाई अनुमति दिइएको छ ।

डीआरएसपीका अनुसार, १०% शेयर आरक्षण भाग अन्तर्गत एलआइसी पोलिसी होल्डरहरुको लागि आरक्षित गरिनेछ । हुनसक्छ उनीहरूले सेयर मूल्यमा ५% छुट पाउन सक्छन्।

देशको सबैभन्दा ठूलो सरकारी बीमा कम्पनीले १३ फेब्रुअरी, २०२२ मा बजार नियामक सेबीलाई निवेदन आईपीओ (डीआरएसपी) पेश गरेको थियो। यस अनुसार कम्पनीले करिब ३१.६ करोड अर्थात ५ प्रतिशत सेयर बिक्री गर्नेछ ।