रेमिट्यान्स घट्ने क्रम रोकिएन


काठमाडाैं । विप्रेषण आप्रवाहमा घट्ने क्रम रोकिएको छैन ।

पछिल्लो ७ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी आएर रु ५ सय ४० अर्ब १२ करोड कायम भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई रु.४ अर्ब ५३ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,००,१०२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १,५२,३२५ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतलेघटेको थियो ।समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु.६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।