वेस्टर्न ट्राभल मार्ट सम्पन्न, तीन दिनमा ७५० भारतीयको नेपाल भ्रमण बुकिङ


काठमाडौं । नेपाल पर्यटन बोर्डले वेस्टर्न ट्राभल मार्ट सम्पन्न गरेको जनाएको छ । नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगन्ज उपमहानरपालिकाको आयोजनामा नेपालगन्जमा तीन दिने कार्यक्रम गरेको थियो ।

फाल्गुन २६, २७ र २८ गते भएको मार्टमा नेपालगञ्ज शहरलाई गेटवे अफ कर्णालीको रुपमा प्रवर्द्धन गरिएको थियो ।
मार्टमा बोर्डले आमन्त्रित भारतीय टुर अपरेटर, ब्लगर र मिडियाकर्मीहरुलाई स्थानीय होटेल तथा क्यासिनोहरुको भ्रमण गराउनुका साथै पर्यटकीय गन्तव्य तथा गतिविधिहरु समावेश गरी परिचयात्मक भ्रमण गराएको जनाएको छ ।

साथै मार्टमा सहभागी हुने प्रदेशका पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुलाई स्थानीय पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रत्यक्ष अनुभवका लागि परिचयात्मक भ्रमण फ्याम टुर गराइएको जनाएको छ । बोर्डले ५१ जना भारतिय आफ्नै खर्चमा भ्रमण गराएको थियो ।

“नेपालमा सँधै आइसकेका मित्र भइसके उनीहरुले नेपाल चिनाइसके नयाँ पर्यटक खोजेर भारतका विभिन्न ठाउँबाट भारतीय टुर अपरेटर, ब्लगर र मिडियाकर्मीहरुलाई स्थानीय होटेल तथा क्यासिनोहरुको भ्रमण गराएको हो,” पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले भने ।

लखनउदेखि पर्यटन बोर्डकै भाडामा ५१ जनाले ३ दिन भ्रमण गरेका थिए । तीन दिनमा पर्यटन बोर्डको ३० लाख खर्च भएको र उनीहरुको प्रचारले मार्टकै अवधिभर ७५० भारतियले ८० हजार आईसी (१ दाख २८ हजार नेपाली रुपैँया) का दरले बुकिङ गरेको उनले बताए ।

यसरी गर्दा ९ करोड भन्दा बढि हुने र पर्यटनलाई यसरी चलायमान बनाउनुपर्छ यो कार्यक्रमले सकारात्म बनाएको उनले उल्लेख गरे ।

नेपालका प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्ट को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रम रहेको छ । विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत– बजारका टुर अपरेटरहरूसंग व्यवसायिक सम्बन्ध स्थापित गर्न मार्ट आयोजना गर्न लागेको रेग्मीले बताए ।

उनले भने,“अहिलेको समयमा अमेरिका, यरोप लगयतका देशबाट पर्यटक आउने सम्भावना नभएकोले हामीले नाका छेउकै पर्यटकलाई केन्द्रित गर्नुपर्छ ।” भारतियहरु नेपालभन्दा अमेरिका र युरोपतिर धेरै जाने हामीले पनि यिनीहरु पर्यटकनै नमान्ने भएकाले अब भारतिय पर्यटकलाई केन्द्रित गर्नुपर्ने उनले बताए ।

आन्तरिक पर्यटनमा सघाउ पुर्याउन भन्दै उनले नेपालीहरुले पनि पहिले देश अनि विदेश घुम्नको लागि आग्रह गरेका छन् । उनले भने, “अबको टार्गेट भारत, बंगलादेश र श्रीलंका हो । श्रीलंकाबाट जस्तो हल्ला आए पनि बुद्ध जयन्तीको लागि श्रीलंका नेपाल भ्रमणको लागि सकारात्मक देखिएको छ ।”

यी मार्टहरुमा सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरुलाई खरिदकर्ता (बायर)को रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका दर प्याकेजहरु बिक्री प्रवर्द्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बीटुबी हुने इष्ट टुरिजम मार्टका संयोजक भवेष श्रेष्ठले बताए ।

उनले भने,“इलामको व्यवसायीलाई सोलुखुम्बु थाहा नहुन सक्ने, सोलुखुम्बुको व्यवसायीलाई मोरङ थाहा नहुन सक्छ त्यसकारण हामीले यो मार्ट सञ्चालन गरेर सबैलाई सबैको जानकारी हुन मद्दत पुग्छ ।”

भारतिय पर्यटक नेपालमा कति दिनको लागि आउँछन् त्यो बोर्डरमा नै स्टिकर टाँस्ने व्यवस्था भए सजिलो हुने श्रेष्ठले बताए ।
मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवर्द्धन गर्नेछन् ।

बोर्डले धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ को धरानमा २०७८ चैत्र ११, १२ र १३ गते ईष्ट दुरिजम मार्ट २०२२ र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदरपश्चिम प्रदेशको धनगढीमा २०७८ चैत्र २५ २६ र २७ गते फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागेको छ ।

प्रदेश नं १ को पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रचार गर्ने उदेश्यका साथ सन् २०१८ देखि नै मार्ट आयोजना गर्दै आइरहेकोमा यो ईष्ट टुरिजम मार्ट २०२२ तेस्रो संस्करण हो ।

यसले भारतीय पर्यटकहरुको आगमन संख्या बढ्न जाने र आन्तरिक पर्यटन गतिविधिहरुको समेत प्रवर्द्धन हुने अपेक्षा बोर्डले लिएको छ । यो मार्टले कोभिडको प्रभावबाट शिथिल नेपाली पर्यटनको पुनरुत्थानमा समेत सुधार हुने जाने अपेक्षा गरेको बोर्डले जनाएको छ ।