प्रधान सम्पादक बुढाथोकीलाई सामना बैंकिङ् पत्रकारिता पुरस्कार


काठमाडौं । यस वर्षको सामाना बैंकिङ पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्यागजिन÷लुम्बिनी सञ्चार.कमका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गरिएको छ ।

सामना बैंकिङ् पुरस्कार गुठीले प्रधान सम्पादक बुढाथोकीसहित इमेज च्यानलका आर्थिक पत्रकार रमेश ढकाललाई संयुक्त रूपमा सोमबार सो पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ ।

गुठीले यसअघि एक जना आर्थिक पत्रकारलाई मात्र पुरस्कृत गर्ने गरेकोमा यस वर्षदेखि छापा र विद्युतीय दुवै क्षेत्रका पत्रकारलाई पुरस्कृत गर्न थालेको हो । गुठीले यस वर्षको सामना बैंकिङ पुरस्कार, पुस्तक लेखन तर्फ यस वर्षको पुरस्कार ‘बैंकिङ ल इन नेपाल’ का लेखक रेशमराज रेग्मी र ‘नेपालका आधुनिक मुद्राहरुः एक समिक्षा’ का लेखक श्याम खतिवडालाई प्रदान गरेको छ ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा अनुसन्धनात्मक र विश्लेषणात्मक गन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गर्न र यस क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले सामना बैंकिङ पुरस्कार स्थापना गरिएको गुठीका अध्यक्ष रेवत बहादुर कार्कीले बताए । गुठीले प्रत्येक २ वर्षमा बैंकिङ् पुस्तक लेखक र आर्थिक पत्रकारलाई पुरस्कार वितरण गर्दै आइरहेको छ ।

यो भन्दा अगाडी स्तरीय पुस्तक नभएका कारण पाँचौ पुरस्कार दिएको थिएन । सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा गुठीका अध्यक्ष कार्कीले नेपालमा सबै क्षेत्रमा पुरस्कार वितरण भइराखेको तर बैंकिङ क्षेत्रमा सेवा पुर्याउनेको लागि कुनै सम्मान तथा पुरस्कार वितरण नहुने भएकोले त्यसमा सहयोग पुर्याउनेको लागि सुरु गरिएको बताए ।

उनले यस्तो पुरस्कार वितरणमा सरकारले कर छुट दिए सजिलो हुने बताए । पूर्व गर्भनर विजयनाथ भट्टराईले यस्तो पुरस्कार कुनै पनि हालतमा रोक्न नहुने उल्लेख गरे । उनले भने “यस्तो पुरस्कार नेपालमा कहि पनि वितरण हुँदैन यसलाई कुनै पनि हालतमा रोक्न हुँदैन ।”

राष्ट्र बैंकका प्रवत्ता गुणाकर भट्टले नेपालमा यस्तो पुस्कार अरु पनि वितरण हुनुपर्ने बताए । यस्तो पुरस्कार वितरणले लेखकलाई प्रोत्साहन मिल्ने र थप अनुसन्धानमा लाग्न प्रेरित गर्ने बताए ।

गुठीले त्रिभुवन विश्वविद्यालयका बैंकिङ छात्रवृति प्रदान गर्दै आइराखेको छ । त्रिवि केन्द्रिय अर्थशास्त्र विभागमा अध्ययनरत विद्यार्थीलाई १५ हजारका दरले छात्रवृति प्रदान गर्दै आएको छ ।