कागज उद्योग र कोरोगेटेड बक्स उद्योगीबीच किन बढ्यो विवाद ?


काठमाडौँ । चाउचाउ, बिस्कुट, खाद्य पदार्थ तथा कार्गोमा प्रयोग हुने कोमल खालको कागज उत्पादनमा नेपाल आत्मनिर्भर भएपनि त्यससँग आश्रित उद्योग भने सधैँ कच्चा पदार्थको अभावमा सङ्कट झेल्नु परेको छ ।

कच्चा तथा एक पटक प्रयोग भइसकेको कागज पेलेर बनाइने त्यस्ता कागज उत्पादनमा नेपालले ठूलो प्रगति गरेको भए पनि व्यावसायिक रुपमा स्वार्थ बाझिँदा कागज उत्पादक र कोरगेटेड बक्स व्यवसायीका बीचमा विवाद देखा परेको छ । नेपालका कागज उत्पादक उद्योगले नेपाली व्यवसायीलाई भन्दा भारत निर्यात गर्दा बढी सुरक्षित ठानेका कारण आफूहरु समस्यामा परेको नेपाल कोरोगेटेड बक्स व्यवसायी सङ्घले गुनासो गरेको छ ।

एकातिर बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव छ । चाहेको बेलामा कर्जा नपाउँदा समस्या भोगेको व्यवसायीले चाहेको कच्चापदार्थ नपाउँदा उस्तै जटिलता भोगेका छन् ।

लामो समयसम्म कोरोना कहरका कारण समस्यामा परेका व्यवसायी आवश्यकता अनुसार कच्चापदार्थ पाउन नसक्दा थप समस्यामा परेको नेपाल कोरोगेटेड बक्स व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार राज्यका तर्फबाट पाउनुपर्ने सुविधा प्राप्त हुननसक्दा ठूलो समस्या परेको छ ।

कार्टुन तथा बक्स उत्पादन गर्दै आएका नेपाली व्यवसायीलाई भन्दा कागज उद्योगले भारत निकासी गर्दा बढी फाइदा हुने ठानेका कारण आफूहरुले कच्चापदार्थ नपाएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

सरकारले सहजीकरण गर्ने ठाउँमा पनि उद्योगीले दुःख पाएको उहाँको भनाइ छ । विभिन्न छवटा कागज उद्योगले नेपालमा कागज उत्पादन गर्दै आएका छन् । मारुती पेपर मिल, अरिहन्त पेपर मिल, सनराइज पेपर मिल, क्वालिटी पेपर मिल, अरविन्द पेपर मिल र लुम्बिनी पेपर मिलले कागज उत्पादन गर्छन् । विशेष गरी एक पटक प्रयोग भइसकेको कागजबाट उत्पादन हुने कोरोगेटेड कागजको माग नेपालमा बढी छ । विभिन्न विद्युतीय सामग्री, कार्गो सामानमा प्रयोग हुने कागजदेखि ल्यापटप, मोबाइलसम्मका प्रयोग हुने कागज नेपालमा नै उत्पादन हुन्छ ।

नेपालका लागि आवश्यक कच्चापदार्थ यहीँका उपलब्ध छ । नेपालभित्रै सङ्कलन हुने पूरानो कागजको अनाधिकृत चोरी निकासी पनि जारी छ । सस्तो मूल्यमा ठूलो मात्रामा निकासी भइरहेको कागजात नेपाल कोरोगेटेड बक्स व्यवसायी सङ्घको पहलमा रोकिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । “विभिन्न बाहाना वा बिचौलियाले कमाउन भन्ने चाहानाले गर्दा नेपालको रिसाइकिल कच्चापदार्थ चोरी निकासी गरी सस्तो मूल्यमा भारत निर्यात हने गरेको छ”, उहाँले भन्नुभयो ।

भारत पुग्ने कच्चा कागज प्रशोधन भएपछि पुनः महँगो मूल्यमा भारतबाट भन्सार तिरेर पुनःनेपाल भित्र्याउनु परेको छ । नेपालबाट चोरी निकासी हुने कच्चा कागजको निकासी रोकिएको भए पनि सरकारले भन्सार नाकामा थप कडाइ गर्नु आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । बक्स तथा काटुर्न उद्योगले प्रत्यक्ष रुपमा १५ हजारलाई देशभित्रै रोजगारी दिएको छ । सो उद्योगमा झण्डै रु सात अर्ब बराबरको लगानी भएको छ । देशभित्र १५० वटा जस्ता यस्ता उद्योग सञ्चालनमा छन् । त्यसमध्ये दुई दर्जन बढी उद्योग काठमाडौँ उपत्यकामा मात्रै सञ्चालनमा छन् । उद्योगले ठूलो मात्रामा राजस्वसमेत सरकारलाई बुझाइरहेको छ ।

कच्चा कागत सङ्कलन गर्नेले प्रतिकिलो रु चारदेखि रु पाँचमा स्रोतबाट खरिद गरेर ल्याउने कागज तथा काठमाडौँ उपत्यकामा सङ्कलन हुने फोहरबाट नै अत्यावश्यक कागज बन्न पुग्छ ।

नेपालका कागज उद्योगमा आश्रित रहेका बक्स तथा कार्टुन उद्योगलाई राज्यले पनि संरक्षण गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आग्रह छ । पछिल्लो एक महिनादेखि आफूहरुले समस्या भोग्नु परेको र समाधानका लागि कोही कसैले पनि पहल नगरेको उहाँको गुनासो छ । कूल १०० देखि १८० ग्रामका कार्टुन तथा बक्स उत्पादन गर्ने उद्योगले नेपालका लागि आवश्यकपर्ने कागज उत्पादन गर्छ ।

एउटा बक्स वा कार्टुनमा प्रयोग हुने कागजको मूल्य न्यूनतम रु २ ० देखि अधिकतम रु १५० सम्म पर्न जान्छ । आफूहरुले नेपालमा उत्पादन हुने कागजको उपभोग नेपालमा नै आओेस् भन्ने अपेक्षामा रहेपनि त्यसको सुनुवाइ नभएको जानकारी दिँदै श्रेष्ठले भारतबाट कच्चापदार्थ आयात गरेर उद्योग चलाउन नसकिने अवस्था आएको जानकारी दिए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन मातहत रहेको साफ्टा सुविधाको उपयोग गर्दै नेपालका कागज उद्योगले बक्स तथा कार्टुन उद्योगलाई सामान नदिई भारत निकासी गर्ने गरेका छन् ।

आफूहरुले नेपालमा नै सामान खपत हुने अवस्था रहँदा रहँदै भारत निकासी नगर्न आग्रह गरेपनि त्यसको सुनुवाइ नहुँदा उद्योग सञ्चालन गर्न समस्या भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । त्यसो त बक्स तथा कार्टुन उद्योगमा प्रयोग हुने कागजको मूल्यसमेत अत्याधिक मूल्य वृद्धि भएको छ ।

दुई वर्ष पहिले प्रतिकिलो रु ३७ मा पाइने कागज हाल न्यूनतम रु ६५ बराबर पुगेको छ । बैंक ऋणमा चलेका व्यवसायलाई ब्याजले चाप्दै गएको हुन्छ । चर्कौ ब्याजमा ऋण लिएर सञ्चालन गरेका उद्योगले बैंकको ऋण घटाउन सक्ने स्थिति भने छैन । व्यवसाय सञ्चालनलाई राज्यले सस्तो ब्याज उपलब्ध गराउने व्यवस्था लागू गर्न आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

पछिल्लो दुई दशकदेखि कार्टुन बक्स उद्योग सञ्चालन गर्दै आएका सफल व्यवसायीसमेत अहिले सङ्कट झेल्न बाध्य भएको उनीहरुको भनाइ छ । ठूलो मात्रामा कार्टुन खपत गर्ने उद्योगमासमेत अहिले थोरै कार्टुन खपत हुने अवस्था छ ।

कोरोनाका कारण परेको सङ्कट सहज बन्दै गएको भए पनि पछिल्लो पटक तरलता सङ्कटले झनै समस्या पारेको छ । नाम चलेका उद्योगले तरलता सहज हुँदा नगदमा कारोबार गर्दै आएको भए पनि हाल उधारोमा कारोबार गर्न बाध्य छन् । करोडाँैं लगानी भएको उद्योग सजिलै छाड्न पनि नसकिने, चलाउन पनि नसकिने अवस्थामा पुगेको छ । घाटाको व्यापार गर्दा आफूहरु कागज कार्टुन बक्स व्यापारबाट पलायन हुने अवस्थामा पुगेका छन् ।

उद्योगमैत्री ऐन तथा कानुन निर्माण हुनुपर्नेमा जोड दिँदै उनले हेर्दा सानो देखिए पनि उद्योग सञ्चालन गर्न सहज नभएको उद्योगीको भनाइ छ । चम्पादेवी प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग सञ्चालन गर्दै आएका भीमबहादुर खत्री, दर्पण पिन्टिङ एण्ड प्याकेजिङ उद्योगका सञ्चालक राजु पोखरेललको गुनासो पनि श्रेष्ठको जस्तै छ ।

देशभित्र कागज नपाउने हो भने बाहिरबाट आयात गर्दा लाग्ने भन्सारलगायतका शुल्क छुट हुनुपर्ने उनीहरुको भनाइ छ । बजारमा एकातिर कच्चापदार्थको अभाव छ भने अर्कोतर्फ अस्वस्थ प्रतिस्पर्धा, तरलताको सङ्कटका कारण आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।

नेपाल भारतमा हुने फोहरजन्य कागजको निकासीमा रोकथाम र अनाधिकृत रुपमा हुने निकासीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको कथन छ । यसबारेमा जानकारी लिन कागज उद्योगका सञ्चालकसँग पटक–पटक सम्पर्कको प्रयास गर्दासमेत उनीहरु उपलब्ध हुन सकेनन् । रासस