टक्सार महाशाखाले मेसिन मर्मत गरेर पुन : सिक्का छाप्न थाल्याे


काठमाडौं । नेपाल राष्ट्र बैंक , टक्सार महाशाखाले मेसिन मर्मत गरेर पुन : सिक्का छाप्न सुरु गरेको छ ।

२०७२ सालको भूकम्पपछि टक्सारका मेसिनहरू अलपत्र परेका थिए भने धरहरा पुननिर्माणका क्रममा काठमाडौंको सुनधरामा रहेको टक्सार महाशाखा समेत विस्थापित भएको थियो ।

बबरमहलमा औषधि व्यवस्था विभागको जग्गा भाडामा लिएर कार्यालय स्थापना गरेको लामो समयपछि महाशाखाले सिक्का छापेको हो । महाशाखाका निर्देशक विनोदराज आचार्यले हिजाे १० ग्राम र ५ ग्रामको सुनका असर्फीहरू टकमरी गरेको जानकारी दिए ।

२०४० सालमा नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई टक्सार विभाग हस्तान्तरण गरेको थियो भने अहिले महाशाखामा खुम्चाइएको छ । मेसिनहरू हुँदाहुँदै पनि नेपाल राष्ट्र बैंकले टेण्डर गरेर विदेशमा सिक्का छाप्ने गरेको छ । अहिले सुनको असर्फी र मेडलहरू छाप्न सक्ने अवस्थामा पुगिएको निर्देशक आचार्यले जानकारी दिए ।

चलनचल्तीको सिक्का छाप्नका लागि भने केही समय लाग्ने बताए । राष्ट्र बैंकले २०६० सालदेखि नेपालमा चलनचल्तीका सिक्का छापेको छैन । निर्देशक आचार्यले भने,“अहिले सुनका असर्फी र मेडलहरु छाप्ने भयौं, चलनचल्तीका लागि सिक्का छाप्न अझै समय लाग्छ ।”