साल्ट ट्रेडिङ कर्पोरेशनको खुद मुनाफा ५० प्रतिशतले घट्यो


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको खुद मुनाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्ष पुस मसान्तसम्ममा गत वर्ष सोही अवधीको तुलनामा खुद मुनाफा ४९.४९ प्रतिशत घटेको हो ।

कम्पनीले निर्धारत समय भन्दा २ महिना ढिलो सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा १ करोड २७ लाख ७९ लाख ७११ रुपैयाँ नाफा कमाएको छ । सोही अवधीमा गत वर्ष कम्पनीले २ करोड ५२ लाख ३७९ रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा अघिल्लो आवको यसै अवधिको तुलनामा ४९.४९ प्रतिशत घटेको हो । दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ४० प्रतिशत बढी घटेपछि त्यसको प्रतक्ष्य असर नाफामा परेको हो ।

कम्पनीको कुल आम्दानी पनि पुस मसान्त सम्मको अवधीमा ४०.४० प्रतिशतले घटेको छ ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ५१ करोड १२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ८९ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँ पुगेको छ । आव २०७६/७७ वर्षको नाफाबाट वितरण गरेको २० प्रतिशत बोनस वितरणपछि उक्त पूँजी कायम भएको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब ३१ करोड ८७ लाख १६ हजार रुपैयाँ सञ्चित गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ३१ करोड ४७ लाख १९ हजार थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११.०९ रुपैयाँ, प्रतिसेयर सेयर नेटवर्थ ४५५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२०.४१ गुणा छ ।

कम्पनीले गत आव २०७७/७८ सम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।