सीईओ सम्मेलन सुरु


काठमाडौं । काठमाडौंमा सिइओ सम्मेलन सम्मेलन तथा राष्ट्रिय व्यवस्थापन अवार्ड कार्यक्रम सुरु भएको छ । सम्मेलन तथा अवार्ड कार्यक्रम शुक्रबार र शनिबार काठमाडौंको याक एण्ड यति होटलमा दुई दिन चल्ने छ ।

संघले सात वटा विभिन्न विधालाई समेटेर सीइओ सम्मेलन गर्न लागेको संघका अध्यक्ष किरणकुमार श्रेष्ठले बताए । बैंक तथा वित्तीय संस्था,स्वास्थ्य,शिक्षा,पर्यटन,पूर्वाधार,उद्यामशीलता र प्रविधि क्षेत्रलाई समेटेर सीईओ सम्मेलन भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संघकी कोषाध्यक्ष अनु जोशी श्रेष्ठले सम्मेलनले विभिन्न क्षेत्रमा क्रियाशील सीईओको अनुभव आदानप्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

उनले भनिन्,“सीईओ व्यवस्थापनको मुख्य मेरुदण्ड हो तर विभिन्न क्षेत्रमा क्रियाशील सीईओको फरक फरक अनुभव हुन्छ त्यसलाई आदानप्रदान गर्ने हाम्रो उद्देश्य हो ।”

संघका कार्यकारी निर्देशक अनिल उपाध्यायले पहिलो पटक सीइओ सम्मेलन गर्न लागेको जानकारी दिए । उनका अनुसार सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत झण्डै ३०० सीईओको सहभागि भएका छन्।

उनले भने,“सातवटा फरक फरक क्षेत्र समेटेर सञ्चालन हुने सम्मेलनमा हरेक सेसनमा ४ जना वक्ता र १ जना सहजकर्तासहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।”

संघले सम्मेलनको दोस्रो दिन राष्ट्रिय व्यवस्थापन सम्मेलन र राष्ट्रिय व्यवस्थापन अवार्ड कार्यक्रम गर्ने तय गरेको छ ।

संघमा ३ सय संस्था र ४ हजार जनाको सदस्यता आवद्ध रहेका छन् ।