असिना पीडित किसान भन्छन्, ‘किसानको मर्कामा पालिका बेखबर छन्, कार्यकर्तालाई बाड्ने अनुदानको आश छैन’


अनिल सापकोटा

काठमाडौं । पोखरा लेखनाथ महानगरका रोशन राज बराललाई भरतपुरमा प्लस टू र स्नातक तह कृषिमा अध्ययन सकेपछि स्वदेशमा कृषि पेशा नै गर्नुपर्छ भन्ने लागेर गाउँ फर्किए ।

कृषि पढे अब आफ्नै बारीमा कृषि गर्छु भनेपछि घरमा परिवारले पनि साथ दिए । उनले किताबका पानामा पढेका ज्ञान बारीको कान्लामा लगाउन सुरु गरेको चार वर्ष भयो । थोरै खेतमा तरकारी खेती गरेको रोशन यो वर्ष टनेल भित्र र बाहिर गरि करिब ४ रोपनी खेतमा व्यवसायिक तरकारी खेती गरिरहेको छन् ।

शनिबार राती आएको असिना पानीले उनको तरकारी खेती थिलाथिला पारेर नष्ट गरिदिएको छ । चैत वैशाख र जेठमा असिनाले बारी नष्ट गरेको घटना उनका लागि नयाँ नभएपनि यसपालि चिचिला लागेका तरकारी असिनाले थिलाथिला पार्दा उनको मन चिढिएको छ ।

असिनाले क्षती पुर्याएको बाली

उनका टनेल भित्रका तरकारीमा ठूलो क्षती नभएपनि टनेल बाहिरको सबै तरकारी असिनाले छियाछिया भएको बताए । “टनेल भित्रका काँक्रा बाहेक बाहिरका काँक्रा, खुर्सानी, घिरौला, टमाटर, सिमी, करेलका फूल र फल लागेको चिचिला फल भुइँभरी छरिएका छन्,” बरालले सुनाए, “थोरै बिरुवाका मात्र हाँगा जोगिएका छन्, बैशाख १५ गतेबाट बजारमा लैजान सुरु गर्ने मेरो योजना असिनाले सफल नहुने भो ।”

व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानले सिजनभन्दा पहिला फलाउन जोड गर्नुपर्ने रोशनको बुझाई छ । वैशाख, जेठमा उत्पादन हुने तरकारीले राम्रो भाउ पाउने उनले सुनाए ।

घर परिवारको संयुक्त व्यवसाय भएकाले रोशनका परिवार नै कृषि कर्ममा होमिएका छन् । परिवारको मेहनत छोडेर करिब ८० हजार रुपैँया बीउ र मलका लागि लगानी गरेका रोसनले मौसमले साथ दिए चार लाख बढिको तरकारी बेच्ने लक्ष्य लिएका थिए । “दुई साता पछि नै बजारमा लैजान सकेको भएको धेरै दुख नगरे पनि ४ लाखको तरकारी त उब्जनी हुन्थ्यो होला, असिनाले चौपट पार्याे,” रोशनले सुनाए ।

तरकारी खेतीको बीमा नहुदा किसानलाई थप मर्का पर्ने गरेको रोशन बताउछन् । “वडाले पनि अनुदान त बाड्छ रे तर कसका हातमा पर्छन मैले बुझ्न सकेको छैन्,” रोशन भन्छन्, “उत्पादनमा आधारित अनुदान भए पो किसानले उत्पादनमा जोड दिन्छन्, उनीहरुकै आसेपासेले हात पार्ने अनुदानको आशा छैन ।”

असिनाले क्षती पुर्याएको बाली

असिनाले लगाएको तरकारी बारी सखाप पारेपनि रोशन र उनको परिवारले हार मानेका छैनन् बरु जतिसक्दो चाँडो टनेल विस्तार गर्ने योजनामा रहेको उनले सुनाए ।

तरकारी उत्पादन गरेपनि ढिला गरि उत्पादन गरे बजारको समस्या हुने गरेको रोेशन बताउछन् । सिजन भन्दा चाँडै उत्पादन गरे घरमा पनि व्यवसायी किन्न आउने तर सिजनका तरकारी आफैले बजारमा लैजादा पनि बेच्न हम्मे हम्मे परेको उनको अनुभव छ ।