आजपनि नेप्सेमा गिरावट, लगानीकर्ता भन्छन्, अर्थमन्त्री र राष्ट्रबैंकको चपेटामा परियो


काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सेयरबजारमा गिरावट आएको छ । पहिलो पटक आज शुक्रबार सेयरकारोबार हुँदा १५ अंकले नेप्से परिसूचक घट्यो भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन ।

शुक्रबार पनि सेयरकारोबार हुन्छ भन्ने कुराको प्रचारप्रसारमा कमी साथै धेरैजना होलिडे मुडमा भएको हुनाले आज कारोबार रकममा कमि देखिएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन् ।

अर्थमन्त्री र गर्भनरको राजनीतिक खिचातानीले सेयर बजारमा मारमा परेको छ अर्याल भन्छनः ‘गर्भनरका हरेक गतिबिधीले बजार प्रभावित बन्दै गएको छ । अब अहिलेपनि गर्भनरले साउन १ गतेदेखि लागु हुने गरी सेयरकर्जा दिँदा वेटेज एभरेज १५० पुयाउनुपर्छ भनेर घोषणा गरे जुन अहिले १०० मा चलिरहेको छ यसरी अगाडी नै बोल्दा त्यस्तो प्रभाव बजारमा कस्तो पर्छ देखिरहेको छ, त्यसैले साउन १ गते लागु हुन पनि सक्ला नहुन पनि सक्ला तर यसरी पहिल्यै लगानीकर्ता तर्साउने काम राष्ट्रबैंकले गरेको छ ।’
राष्टबैंकका यस्ता गतिविधिले सेयरबजारलाई आफ्नो चंगुलभित्र पार्न खोजेको देखिन्छ अर्यालले भने ‘समग्र सेयर बजार अस्थिर राजनीतिको चपेटामा परेको छ सकेसम्म आफ्नो सम्पत्ति जोगाउने नत्र के नै गर्न सकिन्छ र ?’

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले घटेर ४३४.७३ अंक झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहको सेयर घटेको छ ।
शुक्रबार कारोबार रकममा अरूण काबेलीले अग्रस्थानमा रहेको छ । कम्पनीको ३ करोड २ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य २.७३ प्रतिशतले बढेको छ ।

त्यस्तै आज तेह्थुम पावरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घटेर ४ सय ६० रूपैयाँमा झरेको छ ।

कूल २२३ वटा कम्पनीको २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।