इनड्राइभरले काठमाडौंमा गर्यो औपचारिक सुरुवात


काठमाडौं । राइड हेलिङ सेवा इनड्राइभरले काठमाडौंमा आफ्नो सेवाको औपचारिक सुरुवात गरेको छ । काठमाडौंमा पहिलेदेखिनै इनड्राइभरले सेवा दिइराखेको भएपनि अहिले औपचारिक सुरुवात गरेको हो ।

इनड्राइभरको रियल टाइम डिल्स(आरटीडी)मोडल मार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन । यसको बदलामा चालकहरुले आफ्ना लागि कुन राइड रिक्वेष्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन्।

मूल्य निर्धारण गर्न इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्न सक्नेछन् । यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् ।

चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको सङ्खयाका आधारमा छनोट गर्न सक्नेछन् ।

“हामी इनड्राइभर नेपालमा ल्याउन उत्साहित छौं । हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं र छिट्टै नै नेपालका मुख्य शहरहरुमा उपलब्ध गराउनेछौं । कम्तीमा सेवा सञ्चालनको शुरुवाती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन लिने छैन, यसको मतलब उनीहरुले प्रत्येक राइडको सम्पूर्ण शुल्क कर बाहेक आफैंले प्रयोग गर्न पाउनेछन्। इनड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकहरुलाई साइन अप गरिसकेको छ”, इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन्न् ।