१६ प्रतिशत ब्याजमा पुँजी लिएर १५ प्रतिशतमा कर्जा प्रवाह गर्दै लघुवित्त


काठमाडौँ । वाणिज्य बैङ्कबाट १६ प्रतिशत ब्याजमा पुँजी लिएर लघुवित्तहरूले १५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेको पाइएको छ । पछिल्लो समय तरलता अभाव देखाउँदै बैङ्कहरूले ब्याजदर बढाइ रहेको अवस्थामा लघुवित्तहरू पनि १६ प्रतिशत ब्याजमा पुँजी लिन बाध्य भएका हुन् ।

राष्ट्र बैङ्कले लघुवित्तहरूलाई आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत तोकेको छ । त्यसैको आधारमा कर्जा लगानी गर्दा लघुवित्त कम्पनी घाटामा कर्जा लगानी गर्न बाध्य भएका हुन् । लघुवित्तहरूले कर्जा प्रवाह गरे बापत १.५ प्रतिशत सेवा शुल्क र त्यसमा आधार दर थपेर कर्जा लगानी गरिरहेका छन् ।

वाणिज्य बैङ्कले लिएको ब्याजदरमा कर्जा लिएर लगानी गर्न नसकिने लघुवित्त सञ्चालकहरूले बताउने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले पिछडिएका वर्गलाई लक्षित गरी बैङ्क तथा वित्तीय संस्थाले निश्चित प्रतिशत अनिवार्य रूपमा तोकिएका क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार वित्तीय पहुँच बढाउने तथा पिछडिएका लक्षित वर्गलाई कर्जा उपलब्ध गराउने उद्देश्यले कुल कर्जाको कम्तीमा वाणिज्य बैङ्कहरूले ५ प्रतिशत, विकास बैङ्कहरूले ४.५ प्रतिशत र वित्त कम्पनीहरूले ४ प्रतिशत विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरे पनि बैङ्कहरूले भने महँगो ब्याजमा पुँजी दिइरहेका छन् । सनराइज बैङ्कले लघुवित्तलाई १६.६१ प्रतिशतमा पुँजी दिने गरेको छ । वाणिज्य बैङ्कहरूले विपन्न वर्गमा गर्नुपर्ने लगानी लघुवित्तमार्फत गर्दै आएका छन् । वाणिज्य बैङ्कहरूले आफूले नै लघुवित्त कम्पनी खोलेर आफ्नो बैङ्कको विपन्न वर्गमा गर्नुपर्ने कर्जा आफ्नै लघुवित्तमार्फत पनि लगानी गरिरहेका छन् ।

बैङ्कबाट सहुलियत दरमा पाउने कोषमा अहिले लघुवित्तले १६ प्रतिशतमा लिन बाध्य भएका हुन् । वाणिज्य बैङ्कबाट महँगोमा पुँजी लिएर लगानी गर्न नसक्ने नेपाल माइक्रो फाइनान्स बैंकर्स एसोसिएसनका उपाध्यक्ष मीनबहादुर बोहराले बताए । उनले भने,“वाणिज्य बैङ्कहरूले महँगो ब्याजमा पुँजी दिइराखेका छन् । राष्ट्र बैङ्कले हामीलाई कर्जा प्रवाहमा १५ प्रतिशतभन्दा बढी ब्याज नलिन भनेको छ । यसरी ऋण दिन सकिँदैन ।”

२०७८ पुससम्म ६७ वटा लघुवित्तले ७७ जिल्लामा ४ हजार ९६५ शाखाबाट सेवा दिइरहेका छन् । देशभरका लघुवित्तमा ५६ लाख २१ हजार ८६५ सदस्य रहेका छन् । यसमध्ये ३१ लाख ७० हजार ६३५ जनाले कर्जा लिएका छन् । कुल ऋणी मध्ये पनि सबैभन्दा धेरै ३० लाख ८७ हजार ९८९ जना महिलाले कर्जा लिएका छन् भने ८२ हजार ९४६ जना पुरुषले कर्जा लिएका छन् ।

महिला र विपन्न वर्गको जीवनस्तर उकास्नको लागि सहयोग पुर्‍याइरहेका लघुवित्तहरूले महँगो पुँजी लिएर कर्जा प्रवाह गर्न नसकिने बोहराले बताए । अधिकांश बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतभन्दा बढी ब्याजमा लघुवित्तहरूलाई पुँजी प्रवाह गरिरहेका छन् ।