नेफ्स्कूनले साकोस शिखर गोष्ठी गर्दै


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडले साकोस शिखर गोष्ठी गर्ने भएको छ । संघले जेठ २९ र ३० गते सोल्टी होटलमा चौथो साकोस शिखर गोष्ठी २०७९ गर्न लागेको जनाएको छ ।

दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि भन्ने मूल नारा सहित सम्मेलन गर्न लागेको हो । सम्मेलनमा सातै प्रदेशबाट ५० जिल्लाका ६५० सहकारीकर्मी उपस्थित हुने अपेक्षा लिएको संघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।

नेफ्स्कूनमा नेपालका ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने ६३ जिल्ला बचत संघ सहित करिब ४३०० बचत तथा ॠण सहकारी संस्थाहरु मार्फत ३५ लाख व्यक्तिगत सदस्यहरु रहेको जनाएको छ । नेफ्स्कूनले २०६८ देखि प्रत्येक तीन वर्षमा शिखर गोष्ठी गर्दै आइराखेको छ ।

गोष्ठीमा विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल विश्व ऋणपरिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), राष्ट्रिय बचत तथा ऋण सहकारी संघ नाकफोक (दक्षिण कोरिया), क्यानेडियन बचत तथा ऋण सहकारी संघ (डिजार्डियन) लगायतका संघबाट प्राविधिक पृष्ठपोषणका आधारमा सम्पन्न हुन जनाएको छ ।

थाईल्याण्ड, भारत र नेपालका विभिन्न विषयविज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने यस गोष्ठीले नेपालको साकोस अभियानको आगामी मार्गचित्र पहिचान गर्ने उपाध्यक्ष ढकालले बताए ।