राजस्व दर हेरफेर गर्न महासंघको माग


काठमाडौं । सरकारले भन्सार महशुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूमा गरेकाे हेरफेरकाे प्रावधानले स्वदेशी उद्योग व्यवसाय प्रभावित हुने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सच्याउन माग गरेकाे छ । सरकारले आर्थिक वर्ष ०७९/८० काे लागि राजश्व दर हेरफेर गरेकाे हाे।

विना परामर्श र उद्यमी व्यवसायीको राय सुझाव विपरित एकतर्फीरूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगमा पर्न जाने समस्याप्रति गम्भीर बन्दै तत्काल सम्बोधन गर्न महासंघले सरकारसँग माग गरेको छ । स्टिल रोलिङ मिल तथा एम एस वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगहरू लगायतका उद्यम व्यवसाय बजेटमा गरिएका व्यवस्थाका कारण बन्द हुने अवस्थामा पुगेको महासंघले जनाएको छ ।

बजेट वक्तव्यमा एमएसवायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ आयातमा भन्सार महसुल ५ बाट १० प्रतिशत र अन्तःशुल्क प्रतिटनमा २ हजार ५ सयबाट ४ हजार ५ सय पुर्याँइदा वायर स्टिल उत्पादन गर्ने उद्योगले आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेकाे महासंघले जनाएकाे छ ।

प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत मन्सार महशुल कायम गरी उक्त आयल प्रयोग गर्ने उद्योगहरुलाई सिधै आयात गर्न दिने नितीले सञ्चालनमा रहेका वनस्पती घिउतेल उद्योगहरू गम्भीर संकटमा जाने देखिने महासंघले उल्लेख गरेको छ ।

महासंघका स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी वस्तुुमा कम्तीमा १ तहको फरक भन्सार दर कायम गर्ने सरकारको नीतिको विपरित रहेको छ । स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगहरूले तिर्दै आएको भन्सार महसुल, अन्तःशुल्क तथा कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल यथावत राखी तयारी प्याड आयातमा लाग्ने भंसार शुल्कमा ९० प्रतिशतसम्म छुट दिँदा स्वदेशी उद्योगको प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग नै बन्द हुने अवस्था सृजना भएको महासंघले जनाएको छ ।

महासंघले भंसारमा अन्तःशुल्क लगाउने व्यवस्थाले गर्दा विभिन्न तहमा हुने औद्योगिक उत्पादनलाई प्रत्यक्ष असर पर्ने भएकाले कच्चा पदार्थमा भंसारमै अन्तःशुल्क लगाउने व्यवस्था अन्त्य गर्न पनि माग गरेको छ । आगामी आर्थिक वर्ष निर्यात दोव्वर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने भनि बजेटमा उल्लेख भएकोमा उत्साहित भएका उद्यमी व्यवसायीलाई यी प्रावधानले निराश बनाएको उल्लेख गरेको छ ।