बाग्मती प्रदेशमा कृषिजन्य उत्पादन ५ वर्ष यताकै न्यून


काठमाडौं । बाग्मती प्रदेशमा धान उत्पादन तथा उत्पादकत्वको आर्थिक वर्ष २०७८/७९ मा पाँच वर्ष यताकै न्यून हुने भएको छ । हावाहुरी सहित अप्रत्यासित वर्षातका कारणले उत्पादनमा गिरावट आएको जनाएको छ ।

बाग्मती प्रदेशले सार्वजनिक गरेको अर्ध वार्षिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय बजारमा मल बीउबिजन महँगो हुनुका कारण यो आर्थिक वर्षमा समग्र कृषि उत्पादनमा ह्रास आउने सम्भावना रहेको उल्लेख गरेको छ । हावाहुरी सहित अप्रत्यासित वर्षातका कारणले उत्पादनमा गिरावट आउने जनाएको छ ।

प्रतिवेदन अनुसार यस वर्ष उत्पादनमा कमी आए पनि आगामी वर्ष भने उत्पादन र उत्पादकत्व बढ्न सक्नेछ । आगामी वर्ष मौसमी अनुकुलताकासाथै मल बिउबिजनमा केही सहजता, कृषि कार्यक्रममा पुर्नसंरचना लगायतका कारणले कृषि उत्पादनमा यस वर्षको तुलनामा केही वृद्धि हुने अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ ।

बाग्मती प्रदेशले गरेको अर्ध वर्षिक समिक्षामा धान उत्पादन ०.४ प्रतिशतले घटेको छ भने कोदो उत्पादन ०.१ प्रतिशत र फापर उत्पादन १५.० प्रतिशतले बढेको छ ।

तरकारी उत्पादन ०.२ प्रतिशत, पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन ७.० प्रतिशत र मासु उत्पादन ८.१ प्रतिशत र अण्डाको उत्पादन १.५ प्रतिशतले बढेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले कृषि, वन र माछापालन क्षेत्रमा १ खर्ब ३ अर्ब रुपैँया कर्जा लगानी गरेका छन् । यो बाग्मती प्रदेशमा प्रवाहित कर्जाको ४.० प्रतिशत रहेको जनाएको छ ।