चोभार सुख्खा बन्दरगाहमा देखिएका समस्या समाधान गर्न सरकार तयार


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा नेपाल इन्टरमोडल यातायात विकास समितिले आज मन्त्रालयमा गरेको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा मन्त्री बडुले वीरगंजलगायतका सीमा नाकाहरुको कार्यबोझ घटाई चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन हाल देखिएका व्यवहारगत र नीतिगत समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने आयात निर्यात कार्यलाई सहज, सरल बनाई समय र लागत घटाउन सके व्यापारिक क्रियाकलाप बढ्ने जानकारी दिए । राजश्व समेत बढ्ने भएकोले अन्तर निकाय समन्वयमार्फत निजी क्षेत्रले अघि सारेका माग र मुद्दा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। चैत २२ गतेदेखि सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहमा आयात निर्यातमा निजी क्षेत्रको आकर्षण बढाउन र हाल देखिएका समस्या पहिचान गरी उपयुक्त सुझाव दिनका लागि अध्ययन समिति बनाउन निर्देशन दिएका छन् ।

उद्योग सचिव अर्जुन प्रसाद पोखरेलले व्यवसायीको सहजता र पूर्वाधारको अवस्थानुसार निश्चित वस्तु तोकेर चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढाउन सकिने धारणा राखेका छन्।

वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश प्रसाद पाण्डेयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग, भन्सार एजेन्ट संघ, समुन्द्रपार निकासी पैठारी संघ र पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लि. लगायत सरोकारवाला निकायको प्रतिनिधित्व रहने गरी एउटा समिति बनाइने जानकारी दिए।