किन प्रभावकारी बनेन नागरिक स्टक डिलर?


दोस्रो बजारमा संस्थागत डिलरको प्रवेशपछि उच्च उतार–चढावमा ठूलो भरथेग हुने लगानीकर्ताको अपेक्षा पूरा हुन सकेन । सेयर बजारको आकार यति ठूलो भयो कि बजार प्रवेश गरेपछि स्टक डिलरको कारोबार सामान्य जस्तै बन्यो।

औपचारिक रूपमा सेयरबजार सुरु भएको अढाइ दशकपछि मात्रै दुई वर्षअघि  पुँजीबजारमा पहिलो स्टक डिलरको रुपमा नागरिक स्टक डिलरको प्रवेश भयो । नेपाल धितोपत्र बोर्डले २०७७ साल फागुन १ गतेदेखि लागू हुने गरि नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरलाई अनुमति प्रदान ग¥यो । 

अधिकृत चुक्तापुँजी १० अर्ब रूपैयाँ र जारी पुँजी ५ अर्ब रूपैयाँ रहेको कम्पनीले तत्काल बजारमा साढे ३ अर्ब रुपैयाँ लगानी गर्न सक्ने गरी बजार निर्माताका रूपमा नागरिक स्टक डिलर सेयर बजार प्रवेश गरेको थियो । योसँगै लगानीकर्ता सेयरबजारमा आउने अस्वभाविक उचारचढाव नियन्त्रण हुने आशामा थिए ।

तर, दोस्रो बजारमा संस्थागत डिलरको प्रवेशपछि उच्च उतार–चढावमा ठूलो भरथेग हुने लगानीकर्ताको अपेक्षा पूरा हुन सकेन । सेयर बजारको आकार यति ठूलो भयो कि बजार प्रवेश गरेपछि स्टक डिलरको कारोबार सामान्यजस्तै बन्यो । 

त्यसपूर्व दैनिक १ अर्ब रूपैयाँको कारोबार नहुने सेयर बजारमा दैनिक २२ अर्ब रूपैयाँसम्म कारोबार हुन थाल्यो भने बजार पुँजीकरण पनि ४३ खर्ब रूपैयाँ पुग्यो । बजार अस्थिर बनेको बेला स्टक डिलरले धितोपत्र दोस्रो बजारमा प्रवेश गरेर ठूलो मात्रामा सेयर खरिद–बिक्री गरेर सेयर बजारमा सन्तुलन कायम गर्नुपर्ने हुन्छ तर यहाँ त ठिक उल्टो भयोे बजारमा अस्वभाविक उतार–चढाव आई बजार असन्तुलन बनेको छ, तरलता अभाव चरम अवस्थमा पुगेको छ । जसले गर्दा नागरिक स्टक डिलरको लगानी बालुवामा पानी हाले जस्तै बन्न पुगेको छ । 

बजार पुँजीकरण ४३ खर्ब पुगेसँगै सेयर बजारको आकार फराकिलो बनेको हुनाले बजारको उतार–चढावलाई एउटा मात्र स्टक डिलरले धान्न नसक्ने सेयर विश्लेषकहरू बताउँछन् ।

नागरिक स्टक डिलरले बजार प्रवेश गरेपछि यताको समयमा यति ठूला उतार–चढाव आए जसमा फँसेका साना लगानीकर्ता अहिलेसम्म उम्किन सकेका छैनन् । कोरोना महामारीसँगै तीव्र रूपमा बढ्दै गएको सेयर बजार लगभग एक वर्षको समयपछि उच्च अंकले घट्दै गयो । 

एक दिन १२० अंकले बढेको बजार भोलिपल्ट नै ११५ अंकले घटेको पनि पाइयो । यस्तो उतार–चढावसँगै बजार निक्कै अस्थिर बनेको र लगानीकर्ताको मनोबल नै कमजोर भएको पुँजी बजारका जानकारहरू बताउँछन् । 

बजार निर्माताको रूपमा आएको नागरिक स्टक डिलरले अथवा एउटा मात्रै स्टक डिलरले अबको सेयर बजारलाई धान्न नसक्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता रूपेश केसी बताउँछन् । 

“नागरिक स्टक डिलरले आफ्नो क्षमताअनुसार लगानी गरिरहेकै होला,” प्रवक्ता केसी भन्छन्, “कम्पनीको ५ अर्बमा चुक्ता पुँजी साढे ३ अर्ब छ, गत वर्षमा केही मुनाफा जोडेको भए अहिले लगानी गर्ने रकम ४ अर्ब पुग्यो होला । अहिले पुँजी बजारमा ४ देखि ५ अर्ब सम्मको कारोबार भइरहेको छ ।”

नागरिक स्टक डिलरले नै अपेक्षा अनरूपको कारोबार गर्न सकेन भन्दा पहिलेको अवस्थामा सेयर बजारको क्षेत्र फराकिलो बनेको प्रवक्ता केसी बताउँछन् । “सेयर बजारमा जति धेरै संस्थागत लगानीकर्ता भयो, त्यति नै बजारको उतारचढाव नियन्त्रण गर्न सहज हुन्छ,” केसीले भने “दैनिक २२ अर्ब सम्मको कारोबार भएको बजारमा एउटा मात्रै स्टक डिलरले थेग्न सक्ने अवस्था हुँदैन्, त्यसैले बजारको अस्थिरता नियन्त्रण गर्न थप स्टक डिलरको पनि आवश्यकता छ ।” 

केसी सेयर बजारमा उतारचढाव आउनु त सकरात्मक पक्ष पनि भएको भन्दै धेरै ठूला उतार–चढावलाई नियन्त्रण गर्न थप संस्थागत लगानीकर्ता भित्रिनु जरुरी भएको बताउँछन् ।  

अन्तर्राष्ट्रिय बजारको अभ्यास हेर्दा धेरै स्टक डिलर भएका बजारमा अस्थिरता एकदमै कम हुने गरेको उनको भनाइ थियो । “ संस्थागत लगानीकर्ताको रूपमा अन्य स्टक डिलर आउनको लागि प्रणाली विकास भयसकेको छ तर अहिलेसम्म कुनै पनि कम्पनीले अनुमतिका लागि आएका छैनन,” केसी भन्छन् ।    

स्टक डिलर त्यस्तो संस्था संरचना हो, जसले नियामक निकायको अनुमति लिई दोस्रो बजारमा ठूलो मात्रामा धितोपत्रहरूको खरिद–बिक्री गरी धितोपत्र बजारमा हुने तरलतालाई नियन्त्रणमा राख्ने र धितोपत्र बजारमा सन्तुलन कायम राख्ने कार्य गर्छ । साथै, तरलता संकटलाई पटक पटक दोहोरिनबाट रोक्छ ।

धितोपत्र बजार अत्यन्तै संवेदनशील क्षेत्र भएको हुनाले मुनाफासँगै जोखिम पनि उत्तिकै हुन्छ । सेयर बजारसँग सम्बन्धित निकायका ससाना गतिविधिले बजारलाई एकमदै अस्थिर बनाउने गर्छ । 

पछिल्लो एक वर्षयता सेयरबजारमा ठूला उतारचढाव आएका छन् । यसबीचमा ११ सयको बजार बढेर ३२ सयको नयाँ उचाइमा पुग्यो । गत वर्ष भदौमा ३२ सयको उचाइबाट झरेर वैशाखको दोस्रो सातामा २२ सयसम्म आइपुग्यो । यस्ता उतारचढावहरु आउँदा धेरै लगानीकर्ताले करोडौंको पुँजी लगानी गुमाएका छन् । 

नागरिक स्टक डिलर सेयर बजारमा भित्रिँदो बजार सन्तुलित गर्ने अपेक्षा गरिए पनि त्यस अनुरूप बजारमा कम्पनीको उपस्थिति कतै नदेखिएको नेपाल इन्भेस्र्टस् फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । 

“बजार यत्रो घटेको अवस्थामा कहीँ कतै नागरिक स्टक डिलर छ भन्ने आभाष लगानीकर्तालाई भएन,” रौनियार भन्छन्, “बजार यस्तो घटेको बेलामा कम्पनीले सेयर खरिद गर्नुपर्ने हो तर उक्त स्टक डिलरले कति करोड रुपैयाँ बैंकमा राखेको कुरा सुन्नमा आयो यो त सरासर गलत भयो ।”  उनी यस विषयमा धितोपत्र बोर्डले केही नबोलेकोमा आपत्ती जनाउँछन् ।

रौनियार नेपालको पुँजी बजारमा स्टक डिलरको संख्या बढाउनु एकदमै आवश्यक भइसकेको बताउँछन् । नागरिक लगानी कोषले नागरिक स्टक डिलर कम्पनी स्थापना गरेर बजारमा प्रवेश गरे जस्तै कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नेपाली सेना र दुवै प्रहरीका कल्याणकारी कोषहरू पनि स्टक डिलरका रूपमा आउनु पर्ने रौनियारको राय छ । 

हाल स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बिमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीमा सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ । यद्यपि, अझैसम्म सर्वसाधारणका लागि सेयर जारी गरिएको छैन ।

कम्पनी सञ्चालनमा आएको दुई वर्षभित्र ३० प्रतिशत साधारण सेयर जारी गरिने कम्पनीले बताउँदै आएको छ ।

कुनै निश्चित समूहले मिलेमतो गरी बजारलाई काबुमा राख्न नसकोस् भन्ने उद्देश्यले मार्केट डिलर सञ्चालनमा आए पनि सेयरबजारको आकार अनुसार कम्पनीको कोष एकदमै न्यून भएकाले बजारमा कारोबार नदेखिएको लगानीकर्ताहरू बताउँछन् । 

देशको सेयर बजारको आकार र लगानीकर्ताको संख्या बढेको आधारमा नागरिक स्टक डिलरको पुँजीको आकार एकदमै सानो रहेको नेपाल उद्योग वाणिज्य संघका सदस्य तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बताउँछन् । 

“सेयर बजारमा नागरिक स्टक डिलरको प्रवेश त एउटा सांकेतिक मात्रै हो,” पौडेल भन्छन् “एउटा स्टक डिलर आइसकेपछि अन्य कम्पनीलाई पनि स्टक डिलरको रुपमा सेयरबजारमा भित्र्याउनको लागि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जले पहल गर्नुपथ्र्यो तर यी दुवै निकायले चासो नै दिएनन्।” 

“धितोपत्र बोर्ड (सेबोन) र नेप्सेले बजार प्रवेश गर्न चाहेका स्टक डिलरलाई अनुमति दिन कन्ज्यूसाइँ गरेकोे छ,” पौडेलले थपे “लामो समयअघिदेखि हाथवे इभेष्टमेन्टले अनुमति मागे पनि अहिलेसम्म निकास दिइएको छैन । अन्य कम्पनीहरू पनि आउन चाहेका छन् तर सम्बन्धित निकायले निकास दिन नखोज्दा आउन सकेका छैनन् ।” अबको बजारलाई सन्तुलनमा ल्याउन कम्तिमा पनि २०–२५ वटा स्टक डिलरको आवश्यकता रहेको पौडेलको तर्क छ । 

यद्यपि, नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ भने स्टक डिलरले मार्केट मेकरको रुपमा काम गर्छ भनेर बुझ्नु नै गलत भएको बताउँछन् । 

“पुँजी बजारलाई सञ्चालन गर्ने र नियन्त्रण गर्ने काम स्टक डिलरको हुँदै होइन,” श्रेष्ठ भन्छन्, “अहिले संसारमा स्टक डिलरको अवधारणा नै छैन, यो नै सुरुवात हो– बल्ल डेढ वर्ष भयो । त्यसैले उपस्थिति देखिनलाई त केही समय लाग्छ ।”

उनका अनुसार दोस्रो बजारमा विशेषगरी साना लगानीकर्ता जताबाट पनि मारमा परिरहेको अवस्था छ । “हाम्रो स्टक डिलरले माग र आपूर्तिलाई अलि–अलि भए पनि सन्तुलित गर्छ कि भन्ने हो,” श्रेष्ठले भने, “हामीले राम्रोसँग अनुसन्धान गरेर लगानी गर्ने भएको हुनाले अनुसन्धान गर्न नसक्ने साना लगानीकर्ताहरुले केही हदसम्म जानकारी पाउने हुनाले उनिहरुको हित संरक्षण हुन्छ ।”

श्रेष्ठ ५ अर्बको पुँजी लिएर मार्केट मेकरको भूमिका खेल्न नसकिने स्वीकार गर्छन् । “सेयर मार्केट लगानीकर्ताको मनोविज्ञानले चल्ने हो, यहाँ उतार–चढाव आइहाल्छ, यस्तो अवस्थामा हामीले एकैपटक ५ अर्ब लगानी गर्ने भन्ने हुँदैन,” उनले प्रष्ट्याए, “हामीले बजारमा स–सानो कारोबारमा उतारचढावलाई निरुत्साहित मात्रै गर्ने हो, रोक्न भने सकिँदैन ।”

स्टक डिलरको भूमिका 

सेयर बजारमा स्टक डिलरको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । बजार निर्माता (मार्केट मेकर)को रूपमा बजारलाई सन्तुलनमा राख्न यस्तो डिलरले ठूलो भूमिका खेलेको हुन्छ । 

यदि धितोपत्र बजारमा अधिक तरलता भएको अवस्थामा लगानीकर्ताले बजारमा लगानी गर्न चाहिरहेका हुन्छन् र बजारमा व्यापक अनुपातमा धितोपत्र कारोबार भइरहेको हुन्छ । धितोपत्रको खरिदकर्ताको चाप र माग बढेको अवस्थामा धितोपत्रको मूल्य पनि बढ्ने गर्दछ । 

धितोपत्रको आपूर्ति भन्दा माग बढी हँदा धितोपत्रको मूल्यवृद्धि भएपछि परिसूचक पनि बढेको अवस्थामा बजार कहिलेकाँही बजार असन्तुलित बन्न जान्छ । यस्तो अवस्थामा स्टक डिलरको आवश्कता पर्दछ ।  

धितोपत्र बजारमा कुनै किसिमको प्रभाव वा कारणले धितोपत्रको मूल्य अत्यन्तै, अस्वभाविक ढंगले बढेर बजारमा असन्तुलनको स्थिति आएमा स्टक डिलरले आफूसँग भएको धितोपत्रहरू बजारमा ठूलो मात्रामा बिक्रीको लागि आह्वान गर्दछन् । 

स्वभावतः ठूलो मात्रामा धितोपत्रको आपूर्ति हुँदा त्यसको मूल्य कम हुन्छ, यसर्थ धितोपत्रको मूल्य अस्वभाविक बढ्ने प्रवृत्तिको नियन्त्रण हुन्छ र बजारमा सन्तुलन कायम रहन्छ ।  

त्यसैगरी, धितोपत्र बजारमा तरलताको कमी भएको अवस्थामा लगानीकर्ताले लगानी इच्छुक हुँदैनन् । यस्तो अवस्थामा बजारमा स–सानो मात्रामा मात्र धितोपत्र कारोबार भइरहेको हुन्छ । थोरै र मझौला मात्रामा धितोपत्रको कारोबार हुँदा बजारमा कुल कारोबार रकम र कुल धितोपत्र कारोबार संख्या पनि न्यून हुन्छ र धितोपत्र खरिदकर्ता नहुने अवस्था उत्पन्न हुन्छ भने बजार अझै घट्न सक्ने आकलन गरि बिक्रीकर्ताको चाप बढ्छ । फलस्वरुपः मागभन्दा पूर्ति बढी हुँदा धितोपत्रको मूल्यमा कमी आउँछ । 

अन्ततः बजार घट्दै गई धितोपत्र बजारमा असन्तुलन आउँछ र बजारप्रति लगानीकर्ताको बिश्वासनीयता पनि घट्दै जान्छ । यस्तो बेलामा स्टक डिलरले ठूलो मात्रामा धितोपत्र खरिद गरी बजारमा धितोपत्रको माग बढाउँछन्, फलतः आपूर्ति र मागको सन्तुलन कायम भई बजारमा सन्तुलन कायम हुन्छ ।

(टक्सार म्यागजिन, जेठ २०७८, पृष्ठ १७ देखि १९)