नेप्से २३ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि


काठमाडौं । सेयरबजारमा आज सकरात्मक माहोल छाएको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम पनि ३ अर्ब माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ४.५३ अंकले बढेर ४०२.९२ अंकमा पुगेको छ ।

आज नेप्सेमा अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा शिवम् कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ९४ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज कुमारी धनवृद्धि योजनामा नकारात्मक सर्किट लागेको छ । उक्त फण्डको मूल्य १० प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको ७५ लाख ८ हजार एक सय ८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।