सेयर रोक्का सम्बन्धी निर्देशिका जारी गर्दै धितोपत्र बोर्ड


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर रोक्का सम्बन्धी निर्देशिका ल्याउने भएको छ । बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश हमालले अबको १० दिन भित्र सेयर रोक्का सम्बन्धी निर्देशिका जारी गर्ने बताएका हुन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले मर्जरका क्रममा बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का गर्ने व्यवस्था हटाएको थियो । उक्त व्यवस्था हटाएसँगै राष्ट्र बैंकले मर्जर प्रयोजनका लागि सेयर रोक्का गर्ने सम्पूर्ण जिम्मेवारीे बोर्डलाई नै दिएको छ ।

बोर्डले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले जनाएको छ ।
थप धितोपत्र दलाल व्यवसायी लाइसेन्स दिने र दोस्रो बजार पुर्ण रूपमा विद्युतिय कारोबारमा अधारित बनाउने बोर्डले घोषणा गरेको छ ।

साथै उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने एवं साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजीबजारमा आबद्ध गर्ने बोर्डले जनाएको छ ।