काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको महानिर्देशकमा अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त भएका छन् ।
महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले कार्यालयमा महानिर्देशक तिवारीलाई २०८३ असोज १ गते देखि लागु हुनगरि नियुक्त पत्र प्रदान गरेका छन् ।
डा. तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले डा. तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालतसम्बन्धी व्यावहारिक अनुभव एक महत्त्वपूर्ण मोडमा महासङ्घमा जोडिएको बताए ।
“नेपालको आर्थिक संरचनामा डा. तिवारीको गहिरो पकड, बृहत् अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाहरूको विश्वासले महासंघको संस्थागत छविलाई थप उचाइमा पुर्याउनेछ । हाम्रो नीतिगत पैरवीलाई अझ प्रभावकारी बनाउन, उच्च प्रभावकारी सुधारका कार्यसूचीहरू कार्यान्वयन गर्न र नेपाली उद्यमहरूका लागि गतिशील तथा विश्वव्यापी रूपमा प्रतिस्पर्धी वातावरण निर्माण गर्न उनको नेतृत्व महत्वपूर्ण साबित हुनेछ ।”
यो नियुक्तिसँगै महासङघमा डा. तिवारीको पुनरागमन भएको छ । यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासङ्घको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व सम्हालेका थिए । बृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी साझेदारी (पिपिपी) को क्षेत्रमा २५ वर्षभन्दा लामो विशिष्ट अनुभव नवनियुक्त महानिर्देशक तिवारीसँग छ ।


प्रतिक्रिया दिनुहोस्