इन्फो डेभलपर्स २० औं वर्षमा, नेपाली सफ्टवयरकाे बजार बन्दै भुटान


काठमाडौं । नेपालको सुुचना प्रविधिको क्षेत्रमा काम गर्ने पुराना कम्पनीमध्येको एक इन्फो डेभलपर्स प्रा.लि. २० वर्ष पुगेको छ । कम्पनीले शनिवार आफ्नो वार्षिकोत्सव मनाएको छ।

२० वर्षअघि ६० हजार रुपैयाँ लगानी शुरु गरेको सानो कम्पनीले नेपालका सरकारी तथा गैरसरकारी निकायदेखि अन्तराष्ट्रिय बजारसम्ममा विजेश विस्तार गरेको छ भने करोडौंको कारोबार गरिरहेको छ । कम्पनीले नेपालसहित भुटानको वित्तिय संस्थामा पनि राम्रो पहुँच विस्तार गरेको छ।

साढे ३ सय भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको कम्पनी नेपालको वित्तीय क्षेत्रमा सफ्टवेयर प्रयोग प्रवद्र्धन गर्ने कम्पनीहरुमा अग्रणी मानिन्छ । एक हजार एकसय भन्दा बढी फर्महरुलाई सेवा दिइरहेको कम्पनी नेपालमा सहकारीले पनि एटीएम चलाउन सक्छन् भनेर शुरुवात गर्न लगाउने कम्पनीसमेतका कार्यहरुका कारण चर्चामा छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले इन्फोडेभलपर्सको प्रगतिको उच्च प्रशंसा गरे । उनले नेपालको सूचना प्रविधि कम्पनीको विकास र प्रवद्र्धनका लागि सहयोग गर्ने बताए ।

इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले कम्पनीले नेपालको सूचना प्रविधिको क्षेत्रमा फरक पहिचान बनाउने मात्र नभइ नेपालको सफ्टवयरको वैदेशिक बजार विस्तारमा पनि सक्रिय रहेको बताए । “सबैको साथ र सहयोगले यहाँसम्म आइपुगेका हौं, अझै धेरै गर्ने उद्देश्यले अगाडि बढिरहेका छौं,” उनले भने ।