कृत्रिम फूलको बिक्री रोक्न सरकारसँग किसान संघको माग


काठमाडौं। नर्सरी तथा पुष्प उत्पादक किसान संघले तिहारमा प्लास्टिक, कागज तथा कपडाबाट बनेका कृत्रिम फूल तथा मालाको बिक्री–वितरण रोक्न सरकारसँग माग गरेको छ।

संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कृत्रिम फूलको आयात तथा बिक्री–वितरणमा रोक लगाई स्वदेशी प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो।

संघका अनुसार पछिल्ला वर्षमा प्लास्टिक, कागज तथा कपडाबाट बनेका अप्राकृतिक फूल गाउँदेखि सहरका बजारसम्म सहजै उपलब्ध हुन थालेका छन्। प्राकृतिक फूलको तुलनामा कृत्रिम फूल सस्तो र आकर्षक देखिने भएकाले उपभोक्ता त्यसतर्फ आकर्षित भइरहेको संघले जनाएको छ।

कृत्रिम वस्तुको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पार्ने भन्दै संघले सरकारले ल्याएका ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाएको छ। प्राकृतिक फूलसरह कृत्रिम फूल बजारमा बिक्री भइरहेको भन्दै संघले बजार अनुगमन गरी ऐन तथा नियम उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ।

संघले तिहारमा सयपत्री, गोदावरी र मखमलीलगायत प्राकृतिक फूलको माग उच्च हुने जनाएको छ। देशका सबै प्रदेशमा यी फूलको खेती विस्तार हुँदै गएको र पुष्प खेतीमा किसानको संलग्नता बढिरहेको संघको भनाइ छ।

बजारको मागअनुसार गुणस्तरीय उत्पादन बढेकाले स्वदेशी फूलले नै बजारको माग पर्याप्त रूपमा पूरा गर्न सक्ने संघले जनाएको छ। सयपत्री फूलमा नेपाल आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको भन्दै संघले तिहारमा स्वदेशी फूलको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ।

त्यस्तै, चाडपर्वको मौका छोपी गैरकानुनी बाटोबाट फूल तथा माला चोरीपैठारी हुन सक्ने भन्दै संघले स्थानीय तह, सुरक्षा निकाय तथा किसानका विभिन्न संघसंस्थासँग अनुगमन र निगरानी बढाउन आग्रह गरेको छ।

संघले सयपत्री फूलको मालाको उपभोक्ता मूल्य प्रतिमाला ९०० रुपैयाँभन्दा बढी नपर्ने भएकाले मूल्य अनुगमन तथा नियमनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि माग गरेको छ।

संघका अध्यक्ष कुमार कसजु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्राकृतिक फूलको प्रयोग बढाउँदै स्वदेशी पुष्प उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्न सरकार र उपभोक्तालाई आग्रह गरिएको छ।