अभियान लघुवित्तको आईपीओ बाँडफाँट


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । साेमबार बिहान ९ बजे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाडाैंमा आइपीओ बाँडफाँट गरिएको हाे ।

मागभन्दा धेरै आवेदन परेका कारण लघुवित्तको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम गोलाप्रथाद्धारा १० कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । जसमध्ये ९१ हजार ३७५ जनालाइ १० कित्ताका दरले ९ लाख १३ हजार ७५० कित्ता सेयर बाँडफाँट गरिएको छ ।

लघुवित्तको आईपीओमा २० लाख ७९ हजार ७८८ वटा आवेदन परेको थियो । सर्वसाधारणतर्फकाे यो आवेदन २२.४७ गुणा बढी हो । उक्त संख्याबाट २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता सेयर माग परेको छ ।

लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत १२ हजार ५०० कित्ता० कर्मचारीहरुका लागि र ५ प्रतिशत ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ताबाट आवेदन मागिएको थियो ।

बाँडफाँट कार्यक्रममा अभियान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशन अधिकारीले लघुवित्त क्षेत्रको साख वृद्धि र क्षमता अभिवृद्धि तथा आय तथा प्रत्यक्ष रोजगारमा टेवा पुर्याइरहेको बताए । छोटो समयमा अभियान लघुवित्त एउटा उचाईमा पुगेको उनले बताए ।

अधिकारीले मर्जरको लागि ८ ओटा लघुवित्तसँग छलफल चलिराखेको बताए । उनले भने, “काभ्रेमा रहेका, पश्चिममा रहेका र पुर्वका लघुवित्तसँग छलफल गरिराखेका छौं । चाँडै मर्जरको प्रकृयामा अगाडी बढछौं ।”

गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियाे । हाल १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् कम्पनीकाे चुक्ता पूँजी २५ करोड रुपैयाँ पुगेकाे छ ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले सातवटै प्रदेशका ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । लघुवित्तले गत आर्थिक वर्षमा एक करोड १० लाख खुद नाफा कमाएको थियाे ।