२७ दिनमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँले घट्यो


काठमाडौं । पछिल्लो २७ दिनमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब बढिले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार साउन महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँले घटेको छ ।

असार अन्तिममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैँया रहेकोमा साउन २७ गतेसम्म १ खर्ब २० अर्ब रुपैयाँले घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको संघले जनाएको छ ।

संघका अनुसार साउनको पहिलो साता ६३ अर्ब रुपैँयाले घटेको निक्षेप दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब, र चौथो साता २५ अर्ब रुपैँयाले घटेको हो ।

वाणिज्य बैंकको कर्जा प्रवाह भने बढेको संघले जनाएको छ । पहिलो र दोस्रो साता घटेको कर्जा प्रवाह तेस्रो र चौथो साता भने बढेको छ भने तेस्रो र चौथो साता क्रमश २ अर्ब रुपैँया र ९ अर्ब रुपैँयाले बढेको छ ।

संघका अनुसार वाणिज्य बैंकहरुले हालसम्म ४१ खर्ब ७५ अर्ब रुपैँया कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै वाणिज्य बैंकहरुको सिडी रेसियो ८८.१७ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।