एमडीएमएस भदौ ३० गतेबाट सुरु गर्ने प्राधिकरणको निर्णय


काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले भदौ ३० गतेबाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम –एमडीएमएस) सुरु गर्ने निर्णय गरेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्धारा आयोजित ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ को संयुक्त कार्यशाला गोष्ठीले एमडीएमएस सुरु गर्ने निर्णय गरेको हो ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण गर्न नेपाल दुरसञ्चार प्राधिकरणले आउँदो भदौ ३० गतेबाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम सुरु गर्ने निर्णय सहित उक्त गोष्ठी सम्पन्न गरिएको छ । एमडीएमएस प्रणाली अनाधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने प्रविधि होे ।

कार्यक्रमका सञ्चार तथा सूचना प्रविधि सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागु गर्ने बताएका छन् ।

मोबाइल फोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राले अहिलेको समयमा यसलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय बस्तुको रुपमा मोबाइल फोन मानिए पनि सरकारले विलासिताको बस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गरे ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाए पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अर्बौ रुपैँया राजश्वसमेत गुमाएको उनले बताए ।

गैरकानुनी रुपमा भित्रिने फोनहरुले गर्दा उपभोक्ताहरु ठगीमा पर्ने, राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौती सम्म गर्नुपर्ने वाध्यता रहेको उनले बताएका छन् ।

अनाधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागु गर्न ढिला गर्न नहुने अध्यक्ष मलहोत्राले बताए ।