‘किसानले लगानी अनुसार प्रतिफल पाएका छैनन्’


काठमाडौं । नेपालमा उत्पादन भएको कृषि जन्य उत्पादन प्रतिस्पर्धी नभएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका कृषि सचिव गोविन्द प्रसाद शर्माले बताएका छन् ।

कृषि कर्जा मेला कार्यशाला सम्बन्धी प्रतिवेदन विमोचन तथा कृषि कर्जा प्रवाहमा आगामी कार्यदिशा विषयक छलफल कार्यक्रममा सचिव शर्माले लगानी, जग्गाजमिन र कामदार अनुसारको किसानले प्रतिफल नपाउने बताएका हुन् ।

उनले भने,“नेपालमा किसानले १७ प्रतिशत ब्याजमा कर्जा लिएर उत्पादन गर्नुपर्छ । कृषि कामदारको लागि पनि ज्याला दिनुपर्यो त्यो पनि महङ्गो छ । ब्याज र कामदारको ज्याला गर्दा नेपालको कृषि उत्पादन प्रतिस्पर्धी छैन ।”

कृषिबाट लागत अनुसारको प्रतिफल नपाएको हुँदा कृषि छोडेर पलायन हुने क्रम बढ्दै गएको उनले बताए । शर्माले भने, “कृषि भन्दा अन्य क्षेत्रमा आम्दानी हुने भएकोले पलायन हुने क्रम बढेको हो, निजी क्षेत्र, सरकार र किसान मिलेर अगाडी बढ्नुपर्छ ।” उनले कृषिको सहुलियतपूर्ण कर्जा लिएर दुरुपयोग गरेको छ कि भनेर खोज्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक आश बहादुर थापाले बैंकको दिगोपन सँगै कृषि प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । उनले सहुलियतपूर्ण कर्जासँगै बैंकको दिगोपन पनि हेर्नुपर्ने बताए हुन् । उनले भने,“बैंकमा सर्वसाधारणको पैसा हुन्छ त्यसैले जथाभावी लगानी गर्न हुँदैन । बैंकको सस्टेनिबिलिटीसँगै हेरेर अगाडी बढ्नुपर्छ ।”

उनले वार्षिकरुपमा कृषि कर्जा माग अनुसार दिन नसकेको बताएका छन् । कृषि कर्जा वार्षिकरुपमा १० खर्ब रुपैँया माग हुँदै आएको छ । उनले भने,“कृषि कर्जा माग अनुसार दिन सकिएको छैन । वार्षिकरुपमा १० खर्ब रुपैँया कृषि कर्जा माग हुँदै आएको छ । त्यसमा पनि सहुलियतपूर्ण कर्जा १ खर्ब ३९ अर्ब रुपैँया गएको छ ।” उनले राष्ट्र बैंक कृषिको प्रवद्र्धन र बैंक तथा वित्तीय संस्थाको दिगोपन गराउन अग्रसर रहेको बताए ।