महासंघले मनायाे १२ औं स्थापना दिवस


काठमाडाैं । साना किसानहरूकाे छाता संगठन राष्ट्रिय कृषक समूह महासंघले १२ औं स्थापना दिवस मनाएकाे छ । 

बिहीबार दिवसकाे सन्दर्भमा तय गरिएकाे साताव्यापी कार्यक्रमकाे समापन तथा मूल समाराेहकाे आयाेजना गर्दै दिवस मनाइएकाे हाे । 

कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार यादवले नेपालकाे कृषि क्षेत्रमा साना किसानकाे भूमिकाकाे चर्चा गर्दै स्थापना दिवसकाे शुभकामना व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय किसान आयाेगकी सदस्य तथा प्रवक्ता जीवन्ती पाैडेल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजा, कृषि विज्ञ डा. कृष्ण पाैडेल लगायतले कार्यक्रममा उपस्थित भइ शुभकामना व्यक्त गरेकाे महासंघले जनाएकाे छ । 

”देशले संघियता अभ्यास गरेको पनि ५ वर्ष पनि बित्यो । कृषि क्षेत्र र किसान वर्ग छायामा परिनै रहे,’’ स्थापना दिवसकाे विषयमा महासंघले प्रकाशित गरेकाे ब्लगमा भनिएकाे छ, ”तर रातो दिन कृषि कर्ममा समर्पित लाखौं नेपाली किसानहरुले उत्पादनको मुल आधार भुमी एवं श्रोत साधनमा पहुँच, पेशागत सुरक्षा र नीतिगत प्रतिनीधित्व एवं निर्णयको अधिकार प्राप्तिका सवालमा विभिन्न समस्याहरु भोगिरहेका छन् ।’’ 

कोभिड —१९ ले पनि साना, सिमान्त, भूमिहिन, कृषि मजदुर र महिला किसानहरुको अवस्था थप कष्टकर बनाएको सन्दर्भमा मिटर ब्याजी र किसान ठगी लगायतका समस्याहरुले किसानलाई थप पिडा श्रृजना गरेको महासंघले जनाएकाे छ । 

भाद्र १७ देखि भाद्र २३ सम्म “कृषिमा रुपान्तरण, संगठन विस्तार र सुदृढिकरण” भन्ने नाराका साथ सप्ताहब्यापी रुपमा विभिन्न विविध कार्यक्रम सहित स्थापना दिवश मनाइएकाे हाे । 

राष्ट्रिय कृषक समूह महासंघ नेपाल २०६८ सालमा कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठनको रुपमा स्थापना गरिएको हो । हाल सातै प्रदेश, ६३ जिल्लाका ५१५० भन्दा बढि कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरु यस महासंघमा आवद्ध रहेका छन् । 

सेवा प्रदायक निकायहरुमा साना किसानको पहुँच अभिवृद्धि गरी दिगो तथा आत्मनिर्भरमूखी उत्पादन वृद्धिबाट राष्ट्रिय उत्पादकत्वमा टेवा पुर्याउने लक्ष्य महासंघकाे छ । गैर राजनीतिक प्रकृतिकाे संस्था महासंघले स्थापनाकाल देखि नै अधिकारमूखी अवधारणालाई अवलम्बन गरी भूमिहीन, सीमान्त, साना र महिला कृषकहरुको अधिकार प्राप्तिका लागि सदस्य समुह क्षमता विकास गर्दै गाउँ, वडा, पालिका, जिल्ला हुँदै प्रदेश र संघीय सरकारको स्तरसम्म समन्वय र सहकार्य सवालगत बहस, पैरवी गर्दै अगाडी बढिरहेको छ ।

पछिल्ला वर्षमा महासंघले गैर आवासिय नेपाली संघ, विभिन्न कृषि कम्पनीहरू, किसान टू किसान लगायतका परियाेजनासँग समन्वय गरेर विभिन्न गतिविधि गर्दै आएकाे छ ।