नेप्सेको आरालो यात्रा कायमै, नबिल बैंकको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजारको ओरालो यात्रा कायमै रहेको छ । सोमबार नेप्से परिसूचक १३ अंकले घट्दा कारोबार रकम भने हिजोको तुलनामा बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि २.३९ अंकले घटेर ३७२.३४ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार नेप्सेमा नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ७ लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२ को मूल्य सबैभन्दा धेरै घटेको छ ।

कूल २२५ वटा कम्पनीको २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर किनबेच हुँदा ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।