टारो ब्रान्डका बाइक र स्कुटरको नयाँ शोरुम इटहरीमा, यस्ता छन् दशैंको अफर


काठमाडौं । एसजी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रा।लि।ले गत वर्ष नेपाली बजारमा भित्र्याएको इटालियन डिजाइनमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको पूर्वाञ्चलको इटहरीमा शाखा शोरुम विस्तार गरेको छ । काठमाडौं र हेटौंडा पश्चात यो टारोको अर्को शोरुम हो ।

विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेद्वारा उक्त शोरुमको उद्घाटन गरिएको हो ।

आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित व्राण्ड हो ।

रेस एडिसनमा निर्मित टारोका बाइक तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल कम्पनीले टारो ब्रान्डका जीपी२ २००, जीपी१ २५० र जीपी१ ४०० गरी तीन मोडलका वाइक नेपाली वजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सीसीका दुई मोडल इमोला १५० र एलेक्स टी९ १५० ग्राहकका लागि उपलब्ध गराएको छ ।

नेपाली बजारमा जीपी२ २०० को मूल्य ५ लाख ५० हजार, जीपी१ २५० को मूल्य ६ लाख ५० हजार र जीपी१ ४०० को मूल्य ९ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यसैगरी इमोला १५० को मूल्य ३ लाख ३० हजार र एलेक्स टी९ १५० को मूल्य ३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

यस ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप सीबीएस ब्रेकिङ, किलेस इग्निसन, ईएफआई, अन्डरसिट एक्जस्ट, टीएफटी डिस्प्ले, एरोडाइनामिकल्ली बिल्ट, प्रोजेक्टर हेडल्याम्प आदि रहेका छन् । कम्पनीले आगामी एक महिना भित्र बिक्री पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको बताएको छ ।

दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० खरिदमा १५ हजार, जीपी२ २०० को खरिदमा ३० हजार र जीपी१ २५० को खरिदमा २० हजार छुटको अफर लागू हुनेछ । साथै बम्पर अफरमा यस अवधिभर खरिद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने कम्पनीको भनाइ छ ।