४० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । राष्ट्र बैंकले आज (असोज ६ गते) ४० अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गरेर भोली सोझै खरिद गर्ने जनाएको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको तरलता अभावलाई सहज बनाउन नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर उक्त रुपैयाँ वित्तीय बजारमा प्रवाह गर्न लागेको हो।

ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज (असोज ६ गते, बिहीबार) दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । यो ट्रेजरी बिल भोलि (असोज ७ गते, शुक्रबार) खरिद गरिनेछ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ । (उदाहरणः रु. १०० को ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने) काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु. १ करोड वा रु. १ करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्नेछ ।

त्यसैगरी, काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमको आधारमा बहुमूल्यमा यस बैंकले खरिद गर्न सक्नेछ ।

राष्ट बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका टेजरी बिलको भुक्तानी मिति २०७९ पुस मसान्तसम्म तोकिएको छ ।