एक्यानको दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न


काठमाडाैं । एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।

शुक्रवार एक्यानले आफ्नो वार्षिकोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यतामा दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको हो । सम्मेलनमा छुटछुटै विषय र बहसमा मुलुकमा दिगो आर्थिक विकासका विषयमा छलफल समेत गरेको छ ।

एक्यानका अध्यक्ष दिपक पाण्डेले चार्टर्ड एकाउण्टेण्टहरुले नै दिगो विकास गर्ने किन भुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहेकाले नीतिगत जटिलता समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताए । उनले नेपालको बजेट खर्च गर्ने प्रवृति समेत कमजोर गरेको भन्दै यसलाई परिर्वतन गर्ने विषयमा दिगो आर्थिक विकास सम्मेलनले एउटा डिपाचर ल्याउन सक्ने बताए ।

उनले भने, “बजेट खर्च गर्ने प्रवृति कमजोर छ । दिगो विकास सम्मेलनले डिपाचर गर्ने छ । नयाँ दिशा बनाउने कोशिस गर्ने छ । चार्टर्ड एकाउण्टेन्टसहरुले नै दिगो विकास गर्ने किन भुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहान्छौं। एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) तीनै तहका सरकारसँग दिगो विकासको लक्ष्य पुरा गर्न हातेमालो गरेर अगाडि बढ्न चाहन्छ। यो नै संघीयतामा र संविधानको मर्म हो । अबको केही वर्षमा अर्थतन्त्रमा फड्को मार्ने छौं र गर्व महशुस गर्ने छौं ।”

त्यस्तै, कार्यक्रमका प्रमुख अथिति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताए । उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै दिगो आर्थिक विकास गर्न सकिने बताए । एक्यानले गरेरको दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासको भावी योजना तथा कार्यान्वयनमा सहजता आउने भट्टराईको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । उनले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताए ।

नेपाल नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले नेपालमा दिगो आर्थिक विकासको बहस हुन जरुरी रहेको भन्दै एक्यानले दिगो विकास आयोजना गरेको भन्दै खुसी व्यक्त गर्नु गरिन । उनले दिगो आर्थिक विकासले विश्वमा शान्ति, मानव अधिकार,जनताको हित, आर्थिक समृद्धि, पृथ्वीको रक्षा, लैगिंक समानता र भोकमरी तथा गरिबीको अन्त्यलाई समेट्ने बताइन् ।

कार्यवाहक गभर्नर डा.तिमिल्सनाले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताइन् ।