आजदेखि आइपीओ निष्काशन गर्दै बाराही हाइड्रो


काठमाडौं । बाराही हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर आइपीओ जारी गरेको छ । कम्पनीले आज कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त आइपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालीकाका अन्य वडाहरूका स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

छिटोमा कात्तिक १८ गतेसम्म र ढीलोमा मंसिर ४ गतेसम्म आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।