नेप्सेमा ५६ अंकको उछाल, कारोबार रकम १ अर्ब नाघ्यो


काठमाडाैं। कारोबारको दोस्रो दिन सेयरबजारमा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ५६ अंकले बढ्दा कारोबार रकम पनि १ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ११.२८ अंकले बढेर ३८२.१४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह सबै बढेका छन् ।

मंगलबार एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड ६५ लाख ६० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार नेप्सेमा न्यादी हाइड्रोपावर कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज एनसीसी डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त डिबेञ्चरको मूल्य ३.९१ प्रतिशतले घटेको छ ।

कूल २३१ वटा कम्पनीको ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।