राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्विरोध


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के. बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । यसअघि पनि नेडाकको प्रथम उपाध्यक्ष रहिसकेका उप्रेती पुनः अर्को कार्यकालका लागि निर्विरोध चयन भएका हुन् ।

कार्तिक–१८ गते बैंककमा सम्पन्न साधारण सभाले तेस्रो कार्यकालको लागि उप्रेतिलाई निर्विरोध निर्वाचित गरेको हो । राष्ट्रिय सहकारी बैंककातर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्व गर्दै आएका छन् । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित भएका छन् ।

बंसलसहित १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल विशेष आमन्त्रित सदस्यमा निर्वाचित भएकी छिन् ।

सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । एफएओ एनएक्स बैंककमा सचिवालय रहेको नेडाक, ९ एसियन राष्ट्रका १६ संस्थाको संजालबाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् ।

नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् । नेडाकको नयाँ कार्यसमितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले जानकारी दिए ।