भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजको सहकार्यमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गरिने


काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरकर्ता अधिकारी पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन् ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो । फाउन्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।

फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति पनि भएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा अधिकारी पुत्री लिमाले भरतमोहन अधिकारीले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सहकारी क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानलाई सधैं चिर स्थायित्व दिन तथा नेपालको आर्थिक तथा सहकारी पत्रकारितामा विशिष्ट योगदान पु¥याउने पत्रकारहरूलाई सम्मान गर्न नाफिजसँग सम्झौता गरिएको बताइन् ।

“पुरस्कारलाई साथ दिन पाउँदा सहकारी क्षेत्रमा बुबाले गर्न चाहेका तर अधुरै रहेका कामले सार्थकता पाउने विश्वास छ,” उनले भनिन्, “आर्थिक तथा सहकारी बिटमा पत्रकारिता गर्नुहुने साथीहरुले भरतमोहन अधिकारीको नाममा पुरस्कार प्रदान गर्ने मौका पाउँदै अत्यन्तै खुसी मिलेको छ ।”

नाफिजका अध्यक्ष मोदनाथ ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमुलक पत्रकारिता प्रबद्र्धन गर्न पुरस्कारले ठूलो भुमिका खेल्ने उल्लेख गरे । स्वर्गीय अधिकारीको सम्झना गर्दै उनले समाचारको गुणस्तर र पत्रकारहरुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारको महत्व रहेको पनि बताए ।