दुध उत्पादन कम भएको भन्दै आयात खुल्ला गर्नुपर्ने डेरी एसोसिएसनको निष्कर्ष,धुलो दुधको मूल्य तोकिनुपर्नेमा जोड


काठमाडौं । नेपाल डेरी एसोसिएसनले कोभिड-१९ को असरका कारण दुध उत्पादनमा कमी आएको भन्दै आयात खुल्ला गर्नुपर्नेमा जोड दिएको छ ।

पोखरामा बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले हाल नपुग दुध व्यवस्थापनको लागि तत्काल नसोच्ने हो भने अब आउने सिजनमा दुधको धेरै नै अभाव श्रृजना हुने निष्कर्ष निकालेको छ ।

बैठकले हालको उत्पादन र खपतको तथ्यांक संकलन गरी नपुग दुध आयात खुल्ला गर्न सम्बन्धित निकायहरूसँग छलफल गर्ने निर्णय भएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

बैठकको निर्णयमा भनिएको छ,“कोभिड-१९ कारण दुध उत्पादनमा कमि हुन आएकोले हाल नपुग दुध व्यवस्थापनको लागि तत्काल नसोच्ने हो भने अब आउने सिजनमा दुधको धेरै नै अभाव श्रृजना हुने देखिन्छ । त्यसका लागि सरोकारवालाहरूलाई एकै ठाउँमा राखि हालको उत्पादन र खपतको तथ्यांक संकलन गरि त्यसको आधारमा नपुग दुध आयात खुल्ला गर्न सम्बन्धित निकायहरुसंग छलफल गर्ने निर्णय गरियो ।”

बैठकले दुधबाट बन्ने सबै प्रडक्टस्को मूल्य ताकिएको भन्दै उत्पादित धुलो दुधको मूल्य नतोकिएका कारण दुग्ध व्यवसायीलाई अप्ठ्यारो भएकोले मूल्य तोक्नको लागि सम्बन्धित निकायहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको अध्यक्ष दाहालको भनाई छ ।

बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको सरकारले पठाएको औचित्यता पत्रबारे पनि छलफल गरेको छ । बैठकको निर्णयमा भनिएको छ,“ दुग्ध क्षेत्रको चौतर्फी हितको लागि २०४८ सालमा स्थापना भएको बोर्ड आज आएर वर्तमान सरकारले बोर्डको औचित्यता माथि प्रश्न खडा गरिरहेको प्रति नेपाल डेरी एसोसिएसनको आपत्ति रहेको छ ।”

एसोसिएसनले भनेको छ,“दुग्ध क्षेत्रमा कुनै पनि समस्या पर्दा सरोकारवालाहरुलाई भेला गरि उचित निर्णय सहित समाधान गर्ने, मन्त्रालयमा समन्वय गर्ने, मूल्यको विषयमा निर्णयार्थ मन्त्रालयमा सिफरिस गर्ने, न्यून बजेटमा पनि किसान, उद्योगीहरुको हितमा काम गर्ने बोर्डको औचित्यमा प्रश्न गर्नुभन्दा अन्य अनावश्यक धेरै संघ संस्था हटाउँदा राम्रो होला भन्ने हाम्रो एसोसिएसनको निश्कर्ष रहेकाले यो निर्णय तुरुन्त फिर्ता गर्न नेपाल डेरी एसोसिएसनले अनुरोध गर्ने निर्णय गरियो ।”

बैठकले नेपाल डेरी एसोसिएसनले आफ्नो वार्षिक गतिविधि एवं डेरी सम्बन्धि जानकारी मूलक लेख रचनाहरू समावेश गरि संस्थाको २४औं स्थापना दिवसको पावन अवसरमा विमोचन गर्ने गरी चौथो डेरी दर्पण प्रकाशन गर्ने निर्णय गरिएको महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

विगत २ वर्षदेखि दुधको मूल्य स्थिर रहेको तर उद्योग सञ्चालनका लागि आवश्यक इन्धन लगायत सबै कुराको बजार भाउ बढेको हुनाले त्यसको प्रत्यक्ष असर दुग्ध क्षेत्रमा पनि परेको कारणले दुग्ध व्यवसायलाई जिवन्त राख्न बजारमा दुधको मूल्य बढाउनु अनिवार्य भएकोले सरोकारवाला निकायहरुसंग छलफल अगाडि बढाउने निर्णय गरिएको महासचिव खनालले बताए ।

आफ्ना सदस्यहरूलाई बाह्य सिप र ज्ञान आर्जन गर्नको लागि विदेश भ्रमण राख्ने र आफ्ना सदस्यहरुलाई क्षमता वृद्धि गराउन सहयोग पुर्‍याउने समेत बैठकले निर्णय गरेको छ ।