नयाँ सरकारको प्राथमिकतामा सेयरबजार, ५९ अंकको उछालसँगै झण्डै ४ अर्बको कारोबार


काठमाडौं । नयाँ सरकारले पुँजी बजारलाई प्राथमिकतामा राख्दा सेयरबबजारमा उछाल आएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ मन्त्री परिषदको पहिलो बैठकले पूँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेसँगै लगानीकर्ताको मनोबल उच्च बनेको देखिन्छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै गर्भनर र अर्थमन्त्री समन्वय मिल्ने आशाले सेयरबजारमा सकरात्मक माहोल छाएको सेयरबजारका जानकारहरु बताउँछन् । पुँजीबजारको लागि भाग्यशाली मानिएका व्यक्ति अर्थमन्त्रीमा आउनु र मन्त्रिपरिषद्को पहिलो बैठकले नै पुँजीबजारलाई सम्बोधन गर्नु नै आजको बजारमा उछाल आउनुको प्रमुख कारण रहको उनिहरुको भनाइ छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.६० अंकले बढेर ३८६.०५ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै लगानी समूह बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । टेलिकमको २० करोड ९४ लाख ९० हजार ५ सय ९ रूपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशिल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज आँधीखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य २.६३ प्रतिशतले घटेको छ ।

कूल २६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।