‘बैंकहरुले कार्टेलिङ गरेर ब्याजदर बढाए’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले बैंकहरुले कार्टेलिङ गरेर ब्याजदर बढाउने गरेको बताएका छन् । पत्रकार सम्मेलन कार्यक्रममा उनले सबै बैंकहरु एकै ठाउँमा बसेर ब्याजदरको निर्णय गर्नु कार्टेलिङ भएको बताए ।

उनले भने,“बैंकहरु सबै एकै ठाउँमा बसेर ब्याजदरको निर्णय गर्नु भनेको कार्टेलिङ गर्नु हो । नेपालको संविधानले कसैलाई पनि कार्टेलिङ गर्न दिँदैन । बैंकहरु मिलेर यो साल यो महिना ब्याजदर बढाउँदैनौं यो महिना यति प्रतिशत ब्याजदर बढाउँछु भन्नु भनेको नेपालको संविधानको खिलाफमा छ ।”

बैंकहरु एकै ठाउँमा बसेर कार्टेलिङ गरेको कुरालाई चर्को ब्याजदर स्विकार्नुपर्ने अवस्था रहेको उनले बताए ।

जिल्ला, नगर वस्तुगत उद्योग वाणिज्य संघ अध्यक्षहरुले सरकार विरुद्ध गर्दै आएको आन्दोलन स्थगित गरेको छ । उपप्रधान तथा अर्थमन्त्रीले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि प्रयत्नरत रहेका कारण आन्दोलन स्थगित गरेको मोरङ व्यापर संघका अध्यक्ष नविन रिजालले बताए । पुष २८ गतेभित्र साँवा ब्याज भुक्तानीको समय थप गर्न र पुनरकर्जा क्रमिकता दिन अनुरोध गर्दै आन्दोलन स्थगित गरेको जनाएको छ ।

रिजालले उद्योगीले बैंक चलाउँदा असर गरेको बताए । उनले भने, उद्योगीले बैंक चलाउँदा १८ लाखलाई असर गरेको छ । नीतिगत कुरा मिलाएर अगाडी बढ्दै यसलाई छुटाउनुपर्छ ।

विरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले निजी क्षेत्रको मनोबल बढाउने कुनै पनि सूचक नभएको बताए । उनले चालू पुँजी कर्जा तत्काल लागू गरे ९० प्रतिशत कालो सूचीमा पर्ने र ९० प्रतिशत उद्योग समस्यामा पर्ने बताए ।

व्यापारीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, पुरानै सीसीडी कायम गर्नुपर्ने, चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने, बैंकहरुले लिँदै आएको शुल्क घटाउनुपर्ने, संस्थागत ब्याजदर २ प्रतिशत कायम हुनुपर्ने, स्प्रेडदर र बेस रेट कायम गर्नको लागि न्युट्रल विज्ञहरुबाट छानबिन गरिनुपर्ने, १०० प्रतिशत एलसी मार्जिन खारेज हनुपर्ने, साँवा ब्याज तिर्ने समय असार मसान्तसम्म हुनुपर्ने माग राखेका छन् ।