नेप्सेमा १७ अंकको वृद्धि, बलियो बन्दै लगानीकर्ताको मनोबल


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजारले उकालो यात्रा तय गरेको छ । सोमबार नेप्से परिसूचक १७ अंकले बढ्दा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ ।

पछिल्लो केही दिनको कारोबार हेर्दा विस्तारै लगानीकर्ताको मनोबल बलियो बन्दै गएको सेयरबजारका जानकारहरु बताउँछन् ।
बजारमा करेक्सन आउँदा पनि कारोबार रकम खासै नघटेको हुँदा अब ढुक्कले कारोबार गर्ने मनस्थितीमा लगानीकर्ता पुगेको उनिहरुको तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ अंकमा पुगेको छ । नेप्से ०.८६ प्रतिशतले बढेको हो । साथै सेन्सेटिभ परिसूचक पनि ०.८८ अंकले बढेर ३९४.८९ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

नेप्सेमा सोमबार नबिल बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । बैंकको १६ करोड ८४ लाख ५१ हजार २ सय ८२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा धौलागिरी लघुवित्त र श्रृजनशिल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज एन एम बी फिप्टी म्यूचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको सेयरमूल्य ४.८० प्रतिशतले गरेको छ ।

कूल २५३ वटा कम्पनीको ८२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९६ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।