‘इन्टरनेटसेवा अवरोध गर्दा उत्पन्न स्थितीको सम्पूर्ण जिम्मेवारी प्राधिकरणले लिनुपर्छ’


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तार काट्ने, भाडाको निहुँमा डाटा सेन्टर, अपरेसनल पोइन्टमा विद्युत लाइन काटेर अवरोध गर्दा उत्पन्न स्थितीको सम्पूर्ण जिम्मेवारी प्राधिकरणले लिनुपर्ने इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)ले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुले नियमित विद्युत महसुल भुक्तानी गर्दा पनि डाटा सेन्टर, अपरेसनल पोइन्टमा विद्युत् लाइन काट्ने, इन्टरनेट सेवा प्रवाह गरेको तार प्राधिकरणले छानिछानी काट्ने गरेको आइस्पानले आरोप लगाएको छ । इन्टरनेट सेवा अवरोध गर्दा हुने उत्पन्न स्थितीको सबै जिम्मा प्राधिकरणले लिनुपर्ने आइस्पानले जनाएको हो ।

इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल लगायतका पूर्वाधार प्रयोग गर्दे आइरहेका छन् । आइस्पानले प्राधिकरणको एकाधिकारको कारण पूर्वाधारको भाडादर आफुखुसी कायम गर्दै आइरहेको आरोप लगाएको छ ।

आइस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले एकतर्फीरुपमा विद्युत पोल लगायतको भाडा ६०० देखि ७०० प्रतिशतसम्म बढाएको बताए । उनले भने,”प्राधिकरणले एकतर्फी रुपमा विद्युत नियमन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभोक्ताका प्रतिनिधि, सेवा प्रदायक सबैलाई बेवास्ता गरी पोलको भाडा (६००/७०० प्रतिशत सम्म) वृद्धि गरेको हो । भाडादरको भार उपभोक्तामा पर्न जाने भएकोले डिजिटल नेपालको मर्म बिपरित रहेको छ ।”

प्राधिकरणले पुरानै (बडेको दर रेटको) भाडा भुक्तानी गर्न र सोही दर अनुसार पूरानो बढेको दर/रेटको भाडा बुझाउन र बढेकै दर रेटको भाडा तिर्ने सम्झौता गर्न दवाव दिइरहेको आइस्पानले जनाएको छ।