चितवन महोत्सवमा मौरी र तोरी प्रर्बद्धन गरिने


काठमाडौं । यस वर्षको चितवन महोत्सवमा मौरी र तोरी प्रबर्धन गर्ने नेपाल उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । ‘चितवन महोत्सव २०७९’ मा मौरी र तोरीलाई प्रबद्र्धन गर्ने उद्देश्यले मौरीको प्रतिमा सहित तोरीबारीको निर्माण गरि कृषिकर्म तर्फ आर्कंषित गर्न लागेको नेपाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्षले चुन नारायण श्रेष्ठले बताए । प्रत्येक महोत्सवमा कुनै १ उत्पादनलाई विशेष हयताका साथ प्रबर्द्धन गर्दै आइरहेको छ । चितवन महोत्सवमा दुध, मह, केरा, पोल्ट्रि लगायतका क्षेत्रलाई यस अगावै प्रबर्द्धन गरिसकेको उनले बताए ।

महोत्सव २०७९ पौष २८ देखी माघ २ गते सम्म क्याम्पाचौर नारायणगढमा महोत्सव सञ्चालन हुने जनाइएको छ । दशदिनसम्म चल्ने महोत्सवमा चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने मेलाका मूल संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए ।

संघले महोत्सव परिसर भित्र चितवनको विविधताको प्रतिनिधित्व गर्ने खालको कृत्रिम पार्क निर्माण गर्न लागेको जनाएको छ । महोत्सबकै अवसरमा चितवन जिल्लाका ५ वटा प्रमुख पर्यटकिय गन्तव्यहरू संलग्न गरि प्रबर्द्धनात्मक पोष्टर प्रकाशन गरि वितरण गर्न लागेको छ । कृषिको लागि चितवन, स्वास्थ्यको लागि चितवन, शिक्षाको लागि चितवन र बसोवासको लागि चितवन भन्ने मान्यतालाई आत्मसात गर्दै महोत्सवको आयोजना गरिएको श्रेष्ठले बताए ।

श्रेष्ठले कोभिड १९ र तत्पश्चात विश्वभर व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहीत भएका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको नयाँ दियो बाल्ने आशा गरेको बताएका छन् ।

यसका साथसाथै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रबर्द्धनमा महोत्सवका गतिविधि सञ्चालन हुने जनाइएको छ । महोत्सवमा ७ वटा विशेष स्टल डोम र कृषि परिसर अटो परिसर सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० वटा स्टलहरु रहने उल्लेख गरिएको छ । संघका अनुसार प्रत्येक स्टलको बिमा गरिएको छ ।

महोत्सवको टिकट शुल्क सर्वसाधारण तर्फ रु. ६० र विद्यार्थि शुल्क रु. ३० राखिएको छ भने टिकट भौतिक रुपमा र वालेटबाट पनि खरिद गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको छ । संघले आन्तरिक तथा बाहय पर्यटक सहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ भने १० दिनको अवधिमा करिब २५ करोड भन्दा माथिको कारोबार हुने अनुमान गरेको छ ।