ग्लोबल आईएमई र बिओकेकाे एकिकृत कारोबार सुरु, कार्यक्रममा कसले के भने ?


काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको एकिकृत कारोबार सुरु भएको छ । एक कार्यक्रम गरेर सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको एकिकृत कारोबार सुरु भएको हो ।

बैंक अफ काठमाडौंसंगको मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको छ। कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय गरेको थियो ।

मर्जरपछि कुल पुँजीकोष ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १० अर्ब, कुल कर्जा ४ खर्ब, कुल सम्पती ५ खर्ब, शाखा सञ्जाल १ हजार १ सय र ७७ जिल्लामा सेवा दिइरहेकाे छ । ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु र ४ हजार बढी कर्मचारी रहेका छन् ।

निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यकः प्रधानमन्त्री 

प्रधामन्त्री पुष्पकमल दाहालले सरकारको न्युनतम साझा कार्यक्रममा पनि  दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताएका छन् । 

ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोवार शुरु भएको अवसरमा उनले सरकारका न्युनतम साझा कार्यक्रममा सुशासन, प्रभावकारी भुमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरा, अन्तरनिहीत निकाय समन्वयको प्रभावकारी व्यवस्था र अनुगमन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको बताए।

प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजिबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ठूला परियोजनामा मात्र नभइ नविनतम बैंकिङ तथा वित्तीय उत्पादन प्रयोग गरी आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्न जरुरी रहेको बताए ।

उनले वित्तीय सेवाहरुको बिस्तारमा डिजिटल बैंकिङको अवधारणा भित्रिएको भन्दै यसको सही सदुपयोग गर्दै बहुभाषिक र बहुसांस्कृतिक हाम्रो देशमा प्रत्येक समुदायमा समान रुपले बैंकिङ सेवा बिस्तार गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले रेमिट्यान्स, कर्जा, यसले निम्त्याउने आयात र जग्गाको कारोबारको वृद्धिले गर्दा कतै न कतै संरचनागत रुपमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै जनसंख्याको लाभ लिएर आर्थिक वृद्धिलाई गति दिनुपर्ने बेला रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले युवालाई उत्पादनका क्षेत्रमा लाभदायी रोजगारी तथा उद्यमका अवसरमा लगाउनु पनि सरकारको लागि चुनौति रहेकाले जटिल र चुनौतिपूर्ण अवस्थाबाट सफल अवतरण गर्न सकारले तत्काल केही सुधार र केही संरचनागत सुधार गर्नुपर्ने बताए। उनले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यक्ता रहेको बताए । 

प्रधानमन्त्री दाहालले भने, “बैंक तथा वित्तिय संस्थाहरु देशको आर्थिक गतिशीलताका संवाहक हुन् । बैंकिङ क्षेत्रको बिस्तार सुदृढीकरणले दिएको अवसरको सही उपयोग गर्नसके ऋण तथा लगानीका श्रोतमा पहुँच बढेसँगै अर्थतन्त्रलाई गति मिल्नेछ । आम नागरिक र व्यवसायीहरुको उत्थानशीलता समेत बढ्नेछ । हामी सुशासन कायम गर्दै उच्च विकासतर्फ समृद्धि हासिल गर्ने दिशामा अघि बढीरहँदा यसको निमित्त परिचालन हुनसक्ने निक्षेप बाहेकको श्रोत पनि महत्वपूर्ण रहन्छ ।”

“हाम्रो जस्तो विकासशील अर्थतन्त्रमा नियामकका लागि चुनौति भनेको बजारमा आउने नविनतम प्रोडक्टसँगसँगै अघि बढ्नु र सुरक्षित नवप्रवद्र्धनलाई सहयोग पुग्ने खालेको नियमन गर्नु हो । यो दिशामा नेपाल राष्ट्र बैंक प्रतिवद्ध छ ,” उनले भने,”हाम्रो रेमिट्यान्स, कर्जा, यसले निम्त्याउने आयात र जग्गाको कारोबारको वृद्धिले गर्दा कतै न कतै संरचनागत रुपमा अफ्ठ्यारोमा छौँ । जनसंख्याको लाभ लिएर आर्थिक वृद्धिलाई गति दिनुपर्ने बेला यो हो । तर हाम्रा युवा विदेशीन बाध्य छन् । युवालाई उत्पादनका क्षेत्रमा लाभदायी रोजगारी तथा उद्यमका अवसरमा लगाउनु पनि हाम्रो चुनौति हो ।”

प्रधानमन्त्री दाहालले अर्थतन्त्तलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई वस्तुपरक रुपमा घनीभुत गराउने निर्णय भइसकेको बताP । उनले अर्थतन्त्रका समस्या समाधानका लागि हामी छिटोछिटो प्रभावकारी दिशामा अघि बढ्ने र  सुशासन प्रभावकारी भुमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति,ऐन र संरचना फेर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजिबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने बताएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छः गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् । 

उनले बैंक, वित्तीय संस्थाहरु मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरु स्वस्थ र सबल बन्ने बताए। उहाँले बैंकहरुको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताए । बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले सानो कर्जालाई प्राथमिकता दिनुपर्ने पनि बताएका छन्। 

“सिस्टम र अर्थतन्त्रले खोजिरहेको विषय बैंक, वित्तीय संस्थाहरु मर्जर भइराख्दा हाम्रो वित्तीय प्रणाली थप सुरक्षित हुनेछ । संस्थाहरु थप स्वस्थ हुनेछन् । थप सबल हुनेछन् । अर्थतन्त्रमा बैंकिङ प्रणालीको इण्डिभिजुअल बैंकको पनि योगदान बढेर जानेछ भन्ने अपेक्षासहित यो पोलिसी ल्याएको हो । यो सालमात्रै १४ वटा बैंक मात्रै मर्जर भएको अवस्था छ । मर्जरमा राम्रो उपलब्धि भएको छ”, उनले भने,”बैंकहरु ठूला र संस्थाहरु मर्जर भइराख्दा बैंक वित्तीय संस्था आफैँमा सेल्फ रेगुलेशनमा पनि बेसी जानुपर्ने, आफ्नै नियमन बढाउनुपर्ने, बैंकसँग भएको रिसोर्सलाई धेरै भन्दा धेरै उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्ने राष्ट्र बैंकले एक खालको नियम ल्याएको छ । त्यो नियम भन्दापनि आफैँ प्रोएक्टिभ्ली राष्ट्रिय उत्पादनमा बढी लाग्नुपर्ने हाम्रो रिसोर्स परिचालनमा त्यो आवश्यक्ता हामीले देखेका छौँ । बैंक वित्तीय संस्थाहरुले सानो कर्जालाई प्रमोट गर्नुपर्छ ।”

गभर्नर अधिकारीले बैंक मर्जरमा यस वर्ष राम्रो उपलब्धि भइरहेको पनि बताए । वित्तीय साक्षरतासँगसँगै वित्तीय कारोबार बढ्ने अपेक्षा धेरै बैंक हुँदा गरिएको भएपनि त्यो पूरा नहुँदा राष्ट्र बैंकले मर्जरको नीति लिनुपरेको स्पष्ट पारे ।

 

ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक होेः अध्यक्ष ढकाल

ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताए । अध्यक्ष ढकालले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोवल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दाबी गरे । उनले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताए ।

ढकालले ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जरले बैंकको अधिकांश वित्तीय सूचकहरुमा ग्लोवल आईएमई बैंक नेपालको पहिलो बैंकको रुपमा स्थापित भएको बताएका छन्। बैंक अफ काठमाण्डुसँगको मर्जर समेत गरेर ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर ग्लोवल आईएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत कारोबार गर्न सफल भएको अध्यक्ष ढकालले बताए ।

उनले बैंकले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउँदै ग्लोवल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताए । 

“नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन हो । ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जर भएसँगै अधिकांश वित्तिय सूचकहरुमा ग्लोवल आईएमई बैंक नेपालको नम्बर १ बैंकको रुपमा रहनेछ । यो अगाडि पनि धेरै सूचाङ्कमा नम्बर १ नै थियौं । मर्जरले अझै माथि उक्लन सफल भएका छौं ।

यो मर्जर समेत गरेर ५ वटा वाणिज्य बैंक,१० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर आज २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत बैंकको रुपमा ग्लोवल आईएमई बैंकको कारोबार शुरु भएको छ,” उनले भने, “राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अगाडि बढेका हामी सरकारको मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने लिडरको रुपमा हौं भन्ने कुरा प्रधानमन्त्री ज्युलाई जानकारी गराउन चाहन्छु । हामी दुई प्लस दुई बराबर ४ होइन हामी पाँचको लक्ष्य सहित मर्जरमा गएको कारणले हामी मात्रै सफल भएका छैनौं । सरकारको नीति र राष्ट्र बैंकको नीतिलाई कार्यान्वयन गरेबाट देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जानको लागि उत्साहित गरेका छौं । हाम्रा शेयरधनी देखि निक्षेपकर्ता ग्राहक सबै हाम्रो मर्जर अभियानलाई सफल बनाउन ठूलो सहयोग रहेको छ ।”

अध्यक्ष ढकालले ग्लोवल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने बैंक बनेको बताए । उनले पेसा र व्यवसायीको सफलताको सूत्र इमान्दारिता भएको भन्दै आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता रहेको बताए । आईएमई समूह वित्तीय क्षेत्र मात्रै नभएर राज्यको प्राथमिकतामा रहेको सूचना प्रविधिका साथै पर्यटन पूर्वाधारमा पनि केन्द्रित रहेको उनले बताए। 

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताए । उनले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताएकाछन् । मुख्यसचिव बैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको बताए । उनले अर्थतन्त्रका सूचकहरुमा समेत सुधार हुँदै गइरहेको अवस्थामा बैंकहरु मर्जर भइ देशकै ठूलो बैंक बनेको ग्लोवल आईएमई बैंकको कारोबारपछि सूचकमा झनै राम्रो हुने बताएकाछन् । उनले वर्तमान सरकारको प्राथमिकतामा नै अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढास्र एक जुट भइ काम गर्न आवश्यक रहेको बताए । 

उनले भने, “अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेका छन्, सूचकहरुमा सुधार आएको छ । यो मर्जरले सूचकमा राम्रो गर्नेछ । निजी क्षेत्र हतोत्साही हुनुपर्ने स्थिति छैन । सरकारले साथ दिनेछ, दिँदै आएको छ । निजी क्षेत्रको मनोबल कसरी अघि बढाउने भन्नेमारेमा प्रधनमन्त्रीको प्राथमिकता छ । निजी क्षेत्रले मनोबल उठाएर एक जुट भइ काम गर्ने हो भने लगानी प्रवद्र्धन गर्नेकुरामा इच्छित कुरा प्राप्त गर्नेछौँ ।”

मुख्यसचि बैरागीले निजी क्षेत्रहरु एकजुट भइ काम गर्ने हो भने लगानी गर्नेकुरामा सोचेको परिणाम प्राप्त हुने बताए। 

 बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुन्छः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताए । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताए । उनले तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताएका छन् । उनले वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको बताए । उनले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताएका छन् । उनले मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यक्ता भएको बताए ।

“बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो । बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ । बैंक बलियो भएपछि मात्रै अर्थतन्त्त सबल हुनेछ । आर्थिक परिदृश्य चुनौतिपूर्ण समयमा छौँ राजश्व घटेको छ, रोजगारी गुमाएका छन्, मुद्रास्फिीर्ति ८ देखि ९ प्रतिशतसम्म पुगेको छ ।  मनोबल गिरेको छ, “उनले भने,”तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको छ । केही सुधारका संकेत देखिएका छन्, तरलतामा सुधार भएको छ, रेमिट्यान्स बडढेको छ । व्यापार व्यवसाय सुधार भएको देखिएको छ । सरकारी खर्च बढ्नुपर्छ, सरकारले जबसम्म विकास खर्च बढाउँदैन अर्थतन्त्र चलायमान हुँदैन । मौद्रिक नीतिमा क्याकुलेटेट रेस्क लिनैपर्छ । सेफ्टी हेरेर अघि बढ्ने हो भने हामी लक्ष्यअनुसार पुग्दैन । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाइकन समृद्धि पाउन सकिँदैन । कसरी लगानी प्रेरित गर्ने, कसरी उकास्ने निजी क्षेत्रलाई भन्नेकुरामा सोच्नुपर्छ ।”

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताए । 

बैंकको ब्याजदर कर्म गरे व्यवसायीहरुको मनोबल उच्च हुनेछः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गरे । उनले बैंकको ब्याजदरमा केही कर्म गर्नसके उद्योगी र व्यवसायीहरुको मनोबल उच्च बन्ने बताए ।

अध्यक्ष अग्रवालले ग्लोवल आईएमई बैंक देशकै ठूलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउने दिशातिर लाग्न सुझाव दिए । उनले सिडि रेसियो पनि सहज हुँदै गइरहेपनि बैंकहरुमा लगानी गर्ने आत्मविश्वास आउन नसकेको बताए । उनले बैंकहरुले लगानी गर्ने आत्मविश्वास बनाउन राष्ट्र बैंकसँग आग्रह गरे । उनले अहिले तरलता सहज भइरहेको भन्दै इन्भेष्टिबल लगानीलाई उत्पादनमुखी क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको बताए ।

“ब्याजदरमा केही कमी ल्याउन पाए उद्योगी व्यवसायीहरुको मनोबल बढ्नेछ । यसमा मुख्य भुमिका खेल्न ग्लोवल आईएमई बैंकले अग्रता लिनुपर्छ । बैंकको ब्याज घटाउनेतिर अघि बढ्नुपर्छ । सिडी रेसियो पनि सजिलो हुँदै गइरहेको छ । ८६,८७ पुगेको छ । बैंकले लगानी गर्ने वातावरण बनाउन आग्रह गर्न चाहन्छु,”उनले भने,”इन्भेष्टिबल फण्डलाई उत्पादनमुखी कसरी बनाउने भन्नेबारेमा सोच्न आग्रह गर्दछु । नयाँ सरकारको पहिलो प्राथमिकतामा अर्थतन्त्र हुने भन्नुभएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको बेलामा ब्याजदर घटाउने र तरलता सहज बनाउने भन्नेमा सोचिन्छ भन्ने आशा छ ।”

अध्यक्ष अग्रवालले नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधार गर्नु रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नेमा विश्वास लिएको बताए।