व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न मन्त्री भण्डारीलाई परिसंघको आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गरेकाछन् ।

उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे ।

आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरेका छन् ।

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत बताएका थिए ।

मन्त्री भण्डारीले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । रोजगारीको अभावमा पलायन भैरहेका जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरु बढाउनु आफ्नो महत्वपूर्ण लक्ष्य रहेको र औद्योगिक विकासबाट मात्रै यो सम्भव भएको हुँदा परिसंघसंग सहकार्य गरी अघि बढ्ने बताए ।