सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छ: अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताएका छन् ।

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्री भएर अर्थमन्त्रालमा आएको दिनदेखि अर्थतन्त्रमा देखिएका चुनौती र समस्या समाधानको लागि अर्थतन्त्रको शुद्धिकरण गरिरहेको बताए ।

उनले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिवद्धता जनाए । भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको अर्थमन्त्री पौडेलको भनाई छ ।

उनले सबै अफ्ठ्याराहरु पार गरेको अवस्था अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको बताए ।

मन्त्री पौडेलले अर्थमन्त्री भएर आएदेखि मन्त्रालयको कार्यसम्पादन, अभ्यास र अनुभवहरु मुलुकको अर्थतन्त्रका बारेमा सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको अर्थतन्त्रको समस्याको सार्थक र निर्णायक प्रहार गर्दै समाधानका साथ उपायहरु खोजिरहेको बताए । उनले अर्थमन्त्री भएर आएपश्चात निजी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रयासहरु गरिएको बताए ।

अर्थतन्त्रका समस्याका कारणहरु सुक्ष्म विवेचना र विश्लेषण गर्दै समाधान गरी नेपाली अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशिल बनाएर अगाडि बढाउने संकल्पमा रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।

उनले भने,“अहिले भूकम्पको प्रभाव,नाकाबन्दी र कोरोना महामारीको प्रभाव छैन । भूकम्पपछिको पुनःनिर्माण धेरै हदसम्म पूरा भएको छ । नाकाबन्दी छैन । कोभिडलाई पनि धेरै हदसम्म पार गरेको अवस्था छ । तर हामी आर्थिक अवस्थामा चिन्ताजनक अवस्थामा छौं किन ? किन अर्थतन्त्रलाई माथि लिएर हिड्न सक्षम पाइलट खोज्ने अवस्थामा छौं । किन इन्जिन ठिक छ वा छैन भन्ने अवस्थामा छौं ।”